काठमाडौं, १९ वैशाख । लगातारको वर्षाले हिमाली भागमा यार्सागुम्बा टिप्न गएकहरु प्रभावित भएका छन् । विभिन्न जिल्लाबाट हिमपहिरोमा परी वेपत्ता भएको खबर आएको छ ।
शक्तिवद्र्धक औषधीका रुपमा प्रयोग हुने यार्सागुम्बा टिप्न कर्णाली प्रदेशका हिमाली जिल्लाका अलावा सुदुपश्चिमका हिमाली जिल्लाका बासिन्दा लेकतिर उक्लिएकामा कतिपय वेपत्ता भएका छन् ।
दार्जुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीले यार्सा टिप्न गएकामध्ये १० जना वेपत्ता भएको जानकारी दिए । उनीहरुको खोजीकार्यका लागि प्रहरी टोली गएको बताए ।
बझाङ जिल्लामा र्यार्सागुम्बा टिप्न गएकाहरु पनि हिमपहिरोले प्रभावित भएका छन् । बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले हिमपहिरोले यार्सा टिप्न गएकी महिला वेपत्ता भएको जानकारी दिइन् ।
हिमाल आरोहण गर्न गएकाहरु पनि हिमपहिरोले प्रभावित भएका छन् । एभरेष्ट चढ्न गएकाहरु शिविरमा अनुकूल मौसमको पर्खाइमा छन् ।
देशमा तीन दिनको वर्षा र हिमपातले हिमाली भेगहरुको जनजीवन कष्टकर बनेको छ । वसन्त ऋतुको यो सिजन यार्सागुम्बा टिप्ने र पर्वतारोहरणको मौसम हो । तर, वर्षा र हिमपातले यसलाई प्रभावित पारिदिएको छ ।