काठमाडौं, ११ वैशाख । तनहुँको उपनिर्वाचन नजिकिनु र राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बिग्रदै जानु संयोग हुनसक्ला तर काँग्रेसवृत्तमा त्यो संयोग नभएको चर्चा चल्न थालेको छ । राष्ट्रपतिकै चुनावी क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार पराजित भएमा गलत सन्देश यसै पनि जानसक्छ भन्ने जानकार थिए सबै ।
चुनावबारे केही सूचना पौडेलले पनि पाएका थिए । पेट दुखाई बढ्न थाल्यो पौडेललाई । एयर एम्बुलेन्स नै तयार गरेर दिल्ली पुर्याइयो ।
त्यसो त पौडेल विगतमा पनि उपचारको बहानामा दिल्ली जाने गर्दथे । काँग्रेसको भारत हेर्ने जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले सामान्य अवस्थामा पनि ह्वील चेयरमा राखेर लाने गर्दथे । त्यस्ता तस्बिरहरु विगतमा पनि आउँथे ।
नेपालका नेताहरु उपचारका लागि दिल्ली जाने त गर्दै आएका छन् । तर, दिल्लीमा उपचार गरिरहँदा तनहुँमा गोविन्दको बिजोग देखियो । न उनले पौडेलको साथ पाए न त शंकर भण्डारीको । झन् काँग्रेस सभापति शेरबहादुर देउवाले जिताएर पठाए मन्त्री बनाइदिन्छु भने । नबनाउनका लागि नै त्यसो भनिएको खुल्दै गएको छ ।
तनहुँमा काँग्रेसका हस्ती नेताहरु छन् । रामचन्द्र पौडेल र गोविन्दराज जोशी सधै जुधिरहे । बाजी पौडेलले मारे जोशी पाखा लागे ।
झन् पछिल्लो समय प्रदीप पौडेल, गोविन्द भट्टराई, शंकर भण्डारी जस्ता केन्द्रीय नेता छन् क्षेत्र दुईवटा छ । प्रदीप पौडेल काठमाडौंबाट चुनाव लड्न थालिसके । तनहुँमै दिपक भट्टराई पनि छन् पछिल्लो पुस्ताका । अघिल्लो पुस्ताका रामचन्द्र पोखरेललगायत पनि टिकटको आशा मार्न छाडेका छैनन् । यसकारण घात अन्तर्घात तनहुँमा स्वाभाविक लाग्ने गर्छ ।