सीसीटिभी क्यामरा जडान गर्न काठमाडौँ महानगरले प्रहरीलाई ६ करोड दिने | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

सीसीटिभी क्यामरा जडान गर्न काठमाडौँ महानगरले प्रहरीलाई ६ करोड दिने

काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी जडान र सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउने भएको हो ।

यसका लागि आज प्रमुख बालेन्द्र शाह (बालेन) को रोहबरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली बिच सम्झौता पत्रमा हस्ताक्षर भयो ।उपलब्ध गराइने रकममध्ये ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ आउँदो १५ दिन भित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिइनेछ ।

सम्झौतापछि महानगरका प्रमुख शाहले, सहरी व्यवस्थापनसँग सम्बन्धित अवस्था हेर्न महानगरभित्रै पनि सीसीटिभी निगरानी कक्ष स्थापना गर्नु पर्नेमा जोड दिनुभयो । ‘सहरलाई व्यवस्थापन गर्ने र सार्वजनिक सरोकार जस्ता विषयमा नेपाल प्रहरीसँग सहकार्य जारी छ । यो नियमित हुनेछ ।’ प्रमुख शाहले अपेक्षा व्यक्त गर्नुभयो ।

नेपाल प्रहरीसँग सीसीटिभी क्यामरा सञ्चालन सम्बन्धी प्राविधिक जनशक्ति छन् । यसलाई निगरानी गर्ने संयन्त्रसँग अनुभव छ । यसकारण हामीले नेपाल प्रहरीलाई सीसीटिभी क्यामरासँग सम्बन्धित कामका लागि सहयोग गरेका हौँ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको भनाइ छ ।

सीसीटिभीका सन्दर्भमा कुरा गर्दै प्रविधिमा आधारित कृतिम वौद्धिकता जोडेर सीसीटिभीबाट प्राप्त हुने दृश्यलाई बर्गीकरण गर्न थालिएको उल्लेख गर्नुभयो ।

सम्झौतामा उल्लेख गरिएको कामहरु गृह मन्त्रालयबाट जारी भएको सीसीटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिलाई आधार कार्यान्वयन गरिनेछ । सीसीटिभी रिङ् नेटवर्क टोपोलोजी, भिडियो व्यवस्थापन प्रणाली, मर्मत सम्भार तथा निगरानीका लागि छुट्टै सवारी सम्बन्धी योजना तयार पारिनेछ । यसका लागि ६ जना पदाधिकारी रहने समिति हुनेछ । यसमा महानगरकातर्फबाट सूचना प्रविधि विभागका प्रमुख, नगर प्रहरी बलका प्रमुख, सूचना प्रविधि शाखा प्रमुख रहनु हुनेछ । यस्तै नेपाल प्रहरीकातर्फबाट प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रतिनिधि १ जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालय सञ्चार शाखा प्रमुख १ जना र प्रहरी कार्यालयमा कार्यरत प्राविधिक अधिकृत प्रतिनिधि १ जना रहनुहुनेछ ।

सम्झौताबमोजिम राखिने सीसीटिभी क्यामराहरु पीटीजेड (प्यान, टिल्ट, जुम) विशेषताका हुनेछन् । क्यामरा जडान भएका ठाउँहरुमा रात्रीकालीन दृश्य हेर्नका लागि सडक वत्तीको व्यवस्था गरिनेछ । निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गरिनेछ । महानगरको भौगोलिक क्षेत्रभित्र दुवै पक्षको नीति र आवश्यकताका आधार सीसीटिभी राख्ने स्थान एकिन गरिनेछ ।महानगरका वडाहरुले जडान गर्ने सीसीटिभी क्यामरा जडानका लागि नेपाल प्रहरीले प्राविधिक सहयोग गर्ने, प्रणालीमा आवद्ध गर्ने, उपकरण तथा संयन्त्र हस्तान्तरण गरि लिनदिन सक्नेछ ।

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);