काठमाडौं, २८ चैत्र । मिटरब्याज पीडित र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ । २ दिनसम्म चलेको वार्ता विफल भएपछि सरकारी टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबिच आज वार्ता हुन लागेको हो । सरकारी टोलीको नेतृत्व गृहमन्त्रालयका सहसचिव प्रदीप कोइरालाले गरेका छन् । दुईपक्षबीच आइतबार र सोमबार भएको वार्ता टुंगोमा पुग्न सकेन ।
वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको बताउँदै पुन वार्तामा बसी समस्या समाधान गर्ने आश्वासन दिएको थियो । वार्ता मंगलबार पुनः बस्ने गरी सकिएको मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले बताउनु भयो । उहाँले वार्तामा आफूहरुको मागबारे सरकारलाई जानकारी गराइएको पनि बताउनु भयो ।
सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गृृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पीडित पक्षले मिटर ब्याज असुली गर्नेहरुलाई कडा कारबाही हुनुपर्ने, उनीहरुले आफूहरुमाथि लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन ।