काठमाडौँ, १९ पुस । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णय नभएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णय नभएको जानकारी दिएको हो ।
मंगलबार केही सञ्चार माध्यमबाट सम्प्रेषित समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा २८८ को उपधारा (३) बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएकाले यस सम्बन्धमा भ्रममा नपर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ती मार्फत सचेत गराएको छ ।
अस्थायी राजधानी तोकिएको समाचार सम्प्रेषण भएसँगै आज देशका विभिन्न ठाउँमा विरोध तथा प्रदर्शन भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तीसँगै विरोध तथा प्रदर्शन मथ्थर हुने अनुमान गर्न सकिन्छ ।