प्रचण्डपछि प्रधानमन्त्री बन्नेमा माधव नेपाल ढुक्क | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

प्रचण्डपछि प्रधानमन्त्री बन्नेमा माधव नेपाल ढुक्क

काठमाडौं, २४ चैत्र । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डपछि आफू प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । उनले आफ्नो आवश्यकता र महत्व बढ्दै गएको भन्दै त्यस्तो संकेत गरेका हुन् ।

‘कस्को कति सिट भन्दा पनि कस्को महत्व र आवश्यकता के हो भन्ने हुन्छ,’ नेता नेपालले विदेशी सञ्चारमाध्यमसँग राजधानीमा अन्र्तक्रिया गर्दै भने, ‘त्यही आवश्यकता अनुसार म विगतमा प्रधानमन्त्री भएको थिएँ र भविष्यमा पनि हुनसक्छ ।’

सत्ता गठबन्धनका तीन नेता प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्रीको सहमतिबारेको जिज्ञासामा उनले घुमाउरो तरिकाले स्वीकार गरे । उनले ठट्टा गर्दै भने, म एक वर्षका लागि होइन डेढ वर्षका लागि प्रधानमन्त्री बन्छु ।

नेपालले आफूले विगतमा गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बन्न साथ दिएकाले पछि उनैबाट प्रधानमन्त्रीको प्रस्ताव आएको स्मरण गराए । पछिल्लो समयमा पनि आफूले देउवा र प्रचण्डलाई प्रधानमन्त्री बनाउन साथ दिएको बताए । उनको संकेत आफूलाई यी दुवै नेताले प्रधानमन्त्रीको प्रस्ताव गर्नेतर्फ थियो ।

नेता नेपालले चीनको ब्रिक एण्ड रोड इनिसियटिभ बीआरआइ सँग भारत आत्तिनु नपर्ने टिप्पणी गरे । उनले बीआरआई विकास परियोजना भएकाले नेपालले स्वीकार्नुलाई भारत आत्तिनुनपर्ने समेत बताए ।

नेपालले भने, बीआरआई प्रति भारत आपत्ति जनाउनुपर्ने र आत्तिनुपर्ने अवस्था छैन । बीआरआई सैन्य रणनीति नभई विकास परियोजना भएको जिकिर समेत गरे ।
नेपालमा अमेरिकी विकास परियोजना एमसीसी पनि कार्यान्वयनको चरणमा रहेको भन्दै त्यसमा भने आफूहरुको केही प्रश्न रहेको बताए ।

नेपाल कुनैपनि सैन्य रणनीतिमा सहभागी नहुने समेत उनले बताए । एमसीसी र बीआरआईलाई सैन्य रणनीतिका रुपमा कतिपयले व्याख्या गरिरहँदा नेपालको सत्ता गठबन्धनको घटक दलका एक नेताका रुपमा नेपालको भनाई अर्थपूर्ण छ ।

कुनैपनि शक्ति राष्ट्रको द्वन्द्वमा नेपाल फस्न नहुने बताए । भारतसँग नेपालको सुमधुर सम्बन्ध रहेको भन्दै नेपालको विद्युत निर्यातमा उसले सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेपालले बँगलादेशलाई विद्युत विक्री गर्न खोजिरहेको उल्लेख गर्दै त्यसमा भारतको साथ मिल्ने गरी कुराकानी गर्नुपर्ने बताए । भारतसँग द्विपक्षीय वार्तामा सशक्त ढंगले कुरा उठाउनुपर्नेमा उनको जोड थियो ।

लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सहज सञ्चालनका लागि भारतबाट एयर रुट प्राप्त गर्न तयारीका साथ छलफलमा बस्नुपर्ने बताए । उनले भारतले पनि नेपालको हितमा सधै साथ दिनुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);