काठमाडौं, २३ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अन्जन श्रेष्ठको टीमबाट उम्मेद्वारी दिने अनौपचारिक घोषणा गरेकी ज्योत्स्ना श्रेष्ठले कित्ता परिवर्तन गरेकी छिन् । उनले अन्जनलाई छाड्दै वरिष्ठ उपाध्यक्ष रामचन्द्र संघईको टीममा गएकी हुन् । संघईले आज साँझ लैनचौर ब्यांकेटबाट टीम घोषणा गर्दैछन्। त्यो टीमको एशोसिएट उपाध्यक्षमा ज्योत्स्ना पनि छिन्।
निर्वाचन नजिकिँदै गर्दा श्रेष्ठले टीम छाड्दा अन्जन धर्म संकटमा परेका छन्। ज्योत्स्नाको बर्हिगमनले अन्जनलाई चुनावी जोडघटाउमा पनि समस्या हुने देखिन्छ। झण्डै तीन साता अघि ललितपुरमा रहेको एलिस रिसेप्सनमा अन्जनको टीमबाट एसोसिएट उपाध्यक्षको उम्मेद्वारी दिने घोषणा श्रेष्ठले गरेकी थिइन्।
श्रेष्ठ एसोसिएटमा बलियो उम्मेद्वारको रुपमा हेरिएको थियो। शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल चुनाव नलड्ने घोषणा गरेपछि अन्जनले नै प्रस्ताव गरेर ज्योत्स्नालाई ल्याइएको थियो। श्रेष्ठले साहिलको पनि प्रोक्सी पाउने अनुमानसहित बलियो रुपमा हेरिएको हो। साहिलको झण्डै अढाई सय मत छ।
साहिलले ज्योत्स्नालाई दिदी भन्छन्। यो वाहेक ज्ञानेन्द्रलाल प्रधानले पनि उनलाई भोट दिनेछन् भने महासंघ अध्यक्ष शेखर गोल्छा र पूर्व अध्यक्ष पशुपति मुरारकाले समेत उनैलाई समर्थन गर्नेछन्। त्यही भएर एशोसिएट उम्मेद्वारको रुपमा ज्योत्स्नालाई प्रभावशाली मानिएको हो।
श्रेष्ठसँग अहिले अन्जनको टीमले राखेर छलफल गरिरहेको छ। ‘हामीले किन अन्तिम चरणमा टीम छाड्नुभएको भनेर सोधिरहेका छौं। तर उहाँले कुनै जवाफ नदिइ बसिरहनुभएको छ,’ अन्जनको टीमका एक सदस्यले बिजमाण्डूलाई भने।