काठमाडौं,१९ पुष । पछिल्लो १० वर्षमा गठन भएका सरकारले करिब ५ अर्ब रुपैयाँ बाँडेका छन् । दोस्रो जनआन्दोलनयता गठन भएका १० वटा सरकारले स्वास्थ्यउपचार र आर्थिक सहायताका नाममा ५ अर्ब रुपैयाँ भन्दा बढी रकम बाँडेका हुन् । सरकारबाट सहयोग पाउनेमा अधिकांश सत्तामा रहेका दलकै नेता कार्यकर्ता छन् भने केही स्वतन्त्र व्यक्तिले पनि यस्तो सहयोग पाएका छन् ।
सरकारले बाँडेको यो सहायता विभिन्न आन्दोलनमा मारिएका व्यक्तिका परिवारलाई दिइएकोबाहेक हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयका अनुसार हरेक सरकारले आफ्ना कार्यकर्ता तथा दल निकटमा संघसंस्थालाई उपचार, जीविकोपार्जन, पर्वलगायतका शीर्षकमा राज्यको ढुकुटीबाट जथाभावी रकम वितरण गरेका छन् ।