काठमाडौं, १८ पुस । निर्वाचन लगत्तै पार्टी एकीकरण गर्ने उद्घोष गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचकको एकता प्रक्रिया अझै औपचारीक रुपमा अघि बढ्न सकेको छैन् । निर्वाचन परिणाम आएको दुई हप्ता बढी हुँदासमेत पार्टी एकीकरणको विषयमा ठोस सहमति हुन सकेको छैन । पार्टी एकता संयोजन समति गठन गरिए पनि औपचारिक बैठकसमेत बस्नसकेको छैन । तथापी दुवै दलका नेताहरुले एकीकण प्रक्रियामा कुनै समस्या नरहेको दाबी गरिरहेका छन् ।
गत असोज १७ गते तामझामा साथ चुनावी तालमेल र पार्टी एकता कार्यदल बनाएका एमाले र माओवादी केन्द्रले त्यही स्तरको उत्साहमा निर्वाचनमा परिणाम पनि ल्याए । तर, असोजमै पार्टी एकता गर्ने घोषणा गरेका दुई दलको पार्टी एकता संयोजन समितिको औपचारिक बैठक भने अझसम्म पनि बस्न सकेको छैन ।
अझ भन्ने हो भने दुवै पार्टीका प्रमुख नेताहरु कांग्रेसले गठबन्धन तोड्ने प्रयास गरेको आरोप लगाउनमै व्यस्त छन् । के कारणले पार्टी एकतामा ढिलाइ भएको भन्नेमा भने दुवै दलका नेताहरुले स्पष्ट पारेका छैनन् । तथापी माओवादी केन्द्रले पार्टी एकीकरणका लागि एमालेसँग निर्णायक वार्ता गर्ने निष्कर्ष निकालेको छ । र, नेताहरुको व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ ।
नेकपा एमालेका नेताहरु पनि एकता कसैले रोक्न नसक्ने दाबी गरिरहेका छन् । एमाले उपाध्यक्ष युवराज ज्ञवाली त पार्टी एकताको गृहकार्य भित्र–भित्रै भइरहेको भन्दै केही दिनमै परिणाम हात पर्ने दाबी गर्छन् ।
वार्ताको पहिलो सर्त : कि त प्रचण्डलाई पार्टीको अध्यक्ष चाहियो कि त प्रधानमन्त्री
एमाले र माओवादी केन्द्रले एकता प्रक्रिया धेरै चरणमा अघि बढाएको बताएपनि माओवादीले बल्ल निर्णायक वार्ता गर्ने निर्णय गर्नुले एकताको भित्री प्रक्रिया कति अघि बढेको छ भन्ने कुराको उजागर गरेका छ । तर, माओवादीले निर्णायक वार्ता भनेको के हुन्छ भन्ने कुरा पनि माओवादी नेताहरुले बताउँदै आएका छन् । उनीहरुले भनेको निर्णयक वार्ताको पहिलो सर्त हो, कि त प्रचण्डलाई पार्टीको अध्यक्ष चाहियो कि त प्रधानमन्त्री ।
एकताका लागि प्रक्रिया अघि बढेको दाबी गरिरहँदा राजनीतिक प्रक्रियाका विषयमा भने अझै एक मत देखिएको छैन । राष्ट्रियसभा अध्यादेशमासमेत एमालेसँग एक ठाउँ नउभिएको माओवादीले एमालेले यो सरकारले गर्नै नपाउने भनेको प्रदेश प्रमुखको नियुक्ति र प्रदेश राजधानी तोक्ने विषयमा समेत सरकारसँग छलफल थालेको छ ।