देश/समाज

प्रचण्ड किन जनगणनाको अन्तिम प्रतिवेदन बुझ्न ढिलाई गरिरहेका छन् ?

काठमाडौं, ३० फागुन । देशमा २०७८ सालमा भएको जनगणनाको अन्तिम प्रतिवेदन तयार भइसकेको छ । जनगणनाको जिम्मेवारी पूरा गरेको राष्ट्रिय तथ्यांक कार्यालयले प्रतिवेदन तीन महिना अघि नै तयार गरिसकेको छ । तर, प्रधानमन्त्रीलाई बुझाएपछि मात्र सार्वजनिक हुने प्रतिवेदन अझै बन्द राखिएको छ ।

तथ्यांक कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले जनगणनाको अन्तिम प्रतिवेदन तयार भइसकेपनि कहिले सार्वजनिक हुने भन्न नसकिने बताए । उनले भने, कुन दिन सार्वजनिक हुन्छ टुंगो छैन । कार्यालयले प्रतिवेदन बुझाउन प्रधानमन्त्री प्रचण्डसँग समय मागेपनि पाएको छैन ।

प्रतिवेदन तयार भएपनि सार्वजनिक नगर्नुको कारण हो चुनाव । मंसिरको अन्तिम साता नै तयार भएको प्रतिवेदन फागुन सकिन लाग्दा पनि सार्वजनिक भएन । अब चैत्रमा हुने हो कि भन्ने आशा गर्छन् तथ्यांक कार्यालयका कर्मचारी ।

नेपालको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा संघ र प्रदेश सांसदहरुको मतभार जनसंख्याको आधारमा हुन्छ । यसपटक दुवै चुनावको मतभार २०६८ को जनगणनाको जनसंख्यालाई आधार बनाइएको छ । २०७८ को जनगणनाको जनसंख्यालाई आधार मानिएको भए सांसदहरुको मतभार बढ्थ्यो । अर्कोतर्फ, जनगणनाको रिपोर्टले विवादहरु ल्याउने सम्भावना पनि थियो ।

जनगणनामा जाति, भाषा, लिङ्ग, समुदाय, धर्मलगायतसँग सम्बन्धित जनसंख्या पनि सार्वजनिक हुनेछ । यसले राजनीतिमा असर पर्न सक्ने ठम्याईका अधारमा सार्वजनिक गरिएको छैन । तथ्यांक कार्यालयले जनगणनाको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने पहल गरिरहेको छ । तर, उनले बुझ्न ढिलाई गरिरहेका छन् ।

Related Post
Share

This website uses cookies.