आशिष रेग्मी
‘पुरा भएका सपना साँच्चै साना हुँदा रहेछन्’ फेसबुकमा मात्र चिनेका एक मित्रले फोटो पोस्ट्याउँदा लेखेको क्याप्सन हो यो । फोटो भन्दा उनको क्याप्सनले मलाई झस्काइदियो, मेरो मुखबाट फ्याट्ट फुत्कीयो– हो त है । ०००
फोटोमा देखिएको त्यहिँ साथीसँग करिब २ हप्तापछि पुल्चोकमा जम्काभेट भयो । मैले बोलाइहाले । सर कता ? उनले भने– म यहिँ जावलाखेल सम्म, अनि सरलाई त मैले चिनिन नि! हामी फेसबुकका साथी– मैले भने । त्यसपछि हामी गफ गर्दै जावलाखेलतिर लाग्यौं ।
सफलताको परिभासा के हो ? यसको उत्तर सायदै कसैसँग होला । तर, २० मिनेटको गफमा मेरो नजरमा उँ सफल भइसक्यो । उँ अझै सफल हुनेछ । ०००
उमेर– २४
नाम– विजय भुसाल (मौसम)
जन्म–होश्राङ्दी, पर्वत
पद–कर अधिकृत, नेपाल सरकार
२४ वर्षमै कर अधिकृत ? यो प्रश्न होइन् । यो उत्साह हो । जोश हो । युवा पुस्ताका लागि प्रेरणा हो । भन्ने लागेर म यो लेख्दैछु ।
भुसाल पहिलो पटकमै नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत पदमा (प्रशासन सेवाको राजश्व समूह, र्याङ्क ९) सिफारिस भएका हुन् ।
उनी बेङ्ग्लोर भीटियु युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिङ्गका गोल्ड मेडालिष्ट हुन् । कोभिड भन्दा अघि उनी भारतमै पढिरहेका थिए । देश र समाजभन्दा टाढा रहेर बस्दाको नमिठो अनुभव उनलाई बेङ्ग्लोरको ४ बर्षे बसाईले दियो ।
कोभिडको समयमा देशको हालत देखेपछि उनलाई लाग्यो यहि देशमै बसेर केहि गर्नुपर्छ । मेकानिकल इन्जिनियरिङ्गमा स्नातक सकेपछि उनीपनि मौसम जस्तै परिवर्तन भए । सपनाको बाटो नै मोडिदिए । अब मोटरको इन्जीन मात्र होइन् देशकै इन्जीन फेर्ने समय आए झैँ उनलाई लाग्यो । अनि कोभिडको समयमा लोकसेवाको तयारी सुरु गरे । कोभिडको समयमा घरमै बसेर अध्ययन गरेपनि उनी केहि समयपछि काठमाडौं आएर लोकसेवा तयारी गर्न बागबजारको नाइस इस्टिटिउटमा कक्षा लिन थाले ।
प्राथमिक शिक्षा पर्वतमै गरेका भुसालले, नवलपूरबाट माध्यमिक शिक्षा र लैन्चौरको निस्ट कलेजबाट प्लस टु पास गरेका हुन् । सानै देखि नयाँ मान्छे भेट्न मन पराउने भुसालले कक्षा बाहिरपनि शिक्षकहरुसँग अन्तक्रिया गरि रहन्थे ।
‘खासमा दिनरात पढेर नाम निकालें भन्ने खालको कथा त छैन म सँग, तर आफू सँग भएको स्रोतको उच्चतम प्रयोग गर्न सके सजिलै नाम निस्किन्छ,’उनले भने ।
लोकसेवा पास गर्न ‘हार्ड वर्क भन्दा पनि स्मार्ट वर्क गर्नुपर्ने’ उनी बताउँछन् । ‘घर परिवारबाट निरन्तर साथ र हौसला पाइरहे । पुतलीसडकको नाइस इस्टिटिउटमा तयारी गर्थे, त्यहाँ सरहरुबाट हौँसला र माया मिल्यो,’उनले भने ।
पछिल्लो समय २०१०मा भारतको कश्मिरबाट यूपीएससी टप गरेका साह फैजलबाट निकै प्रभावित भएको उनी बताउँछन् । बाहिर सुनिए जस्तो लोकसेवा हाउगुजी नभएको भन्दै उनले कती पढ्ने भन्दा पनि कति लेख्ने के लेख्ने महत्वपूर्ण कुरा रहेको बताए । थोरै पढ्ने तर रिभिजन गरिरहने बानीले पनि आफु नाम निकाल्न सफल भएको उनी बताउँछन् ।
तपाईका उमेरका युवाहरु विदेश जाने लहर छ, तपाईलाई विदेश जाने रहर लागेन ? भन्ने प्रश्नमा उनले भने– रहर त मलाई पनि किन नलाग्नु । लागेको थियो तर, अहिलेको पुस्ताले त्याग र सम्झौता नगरे सम्म यो देशको भविष्य उज्ज्वल हुँदैन् भन्ने कुराले मलाई सधै घचघच्याउँछ । हामीले हाम्रो भावी पुस्ताको उन्नतिको लागि आफ्नो व्यक्तिगत जीवनमा सम्झौता गर्नुपर्छ ।
भुसाल कविता लेख्न रुचि राख्छन् । उनले “मौसम“ कविता सङग्रह समेत प्रकाशित गरेका छन् ।