काठमाडौं, २९ माघ । नेपाल चिकित्सक संघले आज मुलुकभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ । नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाको बिरोधमा चिकित्सक संघ आन्दोलित भएको हो ।
संघको शनिवार काठमाडौंमा बसेको बैठकले आईतवार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई भिभिआईपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु सामान्य घटना नभएको भन्दै बिरोध गर्नुपरेको बताउनु भयो ।
‘ लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।