काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेप्रति इंगित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गर्नुभयो । उहाँले नेकपा एमालेले अन्तमा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताउनु भयो । अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भुमिका केही छैन भन्नेहरुलाई देखाइदिएको बताउनु भयो । उहाँले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भुमिका खेल्ने बताउनु भयो ।
अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दुषित रहेको बताउनु भयो । उहाँले आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत बताउनु भयो । उहाँले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरुलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताउनु भयो ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएको दाबी गर्नुभयो ।