काठमाडौं, १६ माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस यस वर्षपनि शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरी विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाउन लागिएको हो ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।