काठमाडौं, १५ माघ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदुर पश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा आज राति हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका केहि स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने भएकोले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।