काठमाडौं । नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाह वि.सं.१७७९ पुस २७ गते बिहीबार आजकै दिन जन्मिएका थिए । उनी नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए।
सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण भएको मानिन्छ। उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सँग वि.सं. १७९४ मा भएको थियो । मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो तर पछि हेमकर्ण सेनले असमर्थता जनाएका थिए। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो।
उनी शाहवंशीय राजा थिए । स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् उनी ।
उनको जन्मदिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउदै आएको छ । नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए।
कहिले गरे पृथ्वी नारायण शाहले काठमाडौँ उपत्यका माथि आक्रमण
कान्तिपुरमाथि आक्रमण
किर्तिपुर गोर्खाको कब्जामा पर्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरूसँग वैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए। तर ललितपुर र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अङ्ग्रेजहरूसँग सैनिक तथा हातहतियारको सहयोग मागेका थिए।
राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४ सय सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुदै काठमाडौँतिर बढेको थियो। यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई पहिले नै भएकाले सिन्धुलीगढीको रक्षार्थ बिरभद्र पाँडे र वीरभद्र उपाध्याय र वंशु गुरुङको समुह ढुङ्गेवासमाथि आइपुग्दा वंशु गुरुङले प्रत्यासित रूपमा चढाई गरे भने अघि बढीसकेको फौजमाथि वंशराज र वीरभद्र उपाध्यायको फौजले पौवागढीमा आक्रमण गरेकाले सारा अङ्ग्रेज फौज आफुसँग रहेको हातहतियार र बन्दुकहरू छाडी आफ्नो प्राण बचाउन जङ्गलतर्फ भागाभाग गरेका थिए।
कान्तिपुरमाथि आक्रमण
पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतर्फबाट घेरी नाकाबन्दी गरेकाले उपत्यकामा चरम आर्थिक सङ्कट छाएको थियो। त्यसमा पनि काठमाडौँका राजा जयप्रकाश मल्ल कठोर विचार, घमण्डी र संकालु प्रवृतिका भएकाले रानी र भारदारहरू रिसाई उनलाई पदच्युत गरी उनका छोरा राज्यप्रकाश शाहलाई राजा बनाएका थिए।
तर पछि उनले पुनः आफ्नो सत्ता प्राप्त गरे तर उनलाई आफ्नो छोरा, रानी र भारदारहरूको सहानुभूति प्राप्त भएन। आफ्नो शक्ति कायम राख्न विदेशी सैनिक झिकाई देवी देवताको गुठि मासेकाले धर्मप्राण नेपाली जनता क्षुब्ध भएका थिए भने विदेशी सैनिकलाई बढी तलब समेत दिने गरेकाले कान्तिपुरका सैनिकमा निराशा उत्पन्न भएको थियो।
ललितपुरको पतन
यस्तो स्थति बुझेर पृथ्वीनारायण शाहले वि.स. १८२५ असोज १३ मा इन्द्र जात्राको समय पारि नरदेवी, टुडिखेल र भिमसेनस्थान गरी ३ तर्फबाट आक्रमण गरी कान्तिपुर माथि विजय गरेका थिए। राजा जयप्रकाश मल्ल भागेर ललितपुरका राजा तेजनरसिह मल्लका गई शरण लिएका थिए। वि.स १८२५ असोज २५ गते पृथ्वीनारायण शाहले धनवन्त र केहरसिंहलाई ललितपुर पठाई आत्मसम्पर्ण गराउन पठाएका थिए। पाटनका राजा विना कुनै युद्ध भागेका थिए।
भक्तपुर विजय
काठमाडौँका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगेका थिए। राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी राज्य र अङ्ग्रेजसँग समेत सीक सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न झुने सम्झी भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिंंह थापा, कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाएका थिए।
भक्तपुरमा युद्ध भयो जसमा ठुलो जनधनको क्षति भएको थियो। झन्डै २००० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घर ध्वस्त भएको थियो। हार स्वरूप वि.स. १८२६ मङ्सिर १ गते रणजित मल्लले आत्मासम्पर्ण गरे। यसै युद्धमा जयप्रकाश मल्लको खुट्टामा गोलि लागेको थियो। उनको इच्छा अनुसार पृथ्वीनारायण शाहले उनलाई पशुपति जाने व्यवस्था मिलाईदिएका थिए । ६७ वर्षीय वयोवृद्ध मितबाबु रणजित मल्लले इच्छाबमोजिम उनलाई काशीबासको उचित व्यवस्था मिलाएका थिए। त्यहाँ पुगेको १८ महिनापछि उनको मृत्यु भएको थियो। ललितपुरका राजा तेजनरसिंह मल्लले कुनै इच्छा व्यक्त नगरेकाले उनलाई आजीवन भक्तपुर दरबारमा कैद गरिएको थियो।