काठमाण्डौँ, ११ पुस , भूकम्पबाट क्षतिग्रस्त नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु मावि) को पुनर्निर्माणका लागि चीन तयार भए पनि नेपाल सरकारकै विभिन्न निकायबीच विवाद देखिएको छ । नयाँ पत्रिकामा समाचार छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच सहमति नहुँदा पुनर्निर्माणमा अन्योल थपिएको छ ।
विद्यालय पुनर्निर्माणको जिम्मा चीनले डिजाइन समेत तयार पारिसकेको छ । आफूले बनाएको डिजाइनमा भवन बनाउन नपाएमा ठूलो लगानी गर्न तयार रहेको चीन पछि हट्ने सम्भावना छ ।
नेपाली पक्षका कारण ढिलाइ हुँदै गएको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख इमनारायण श्रेष्ठले छिटो पुनर्निर्माणका लागि चीन आतुर रहे पनि पुरानो विद्यालय भएकाले सबैको सहमति जुटाउन समस्या भएको बताए ।
शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले विद्यालय पुनर्निर्माणको नक्सा डिजाइन गरेर काठमाडौं महानगरपालिकामा पेस गरेको छ ।
महानगरपालिकाले क्षतिग्रस्त दरबार हाइस्कुलको बाँकी भाग भत्काउन पुनर्निर्माण प्राधिकरणसँग सहमति मागेको थियो । ऐतिहासिक सम्पदा भएका कारण प्राधिकरणले पुरातत्व विभागसँग अनुमति मागे पनि उसले अहिलेसम्म सहमति दिएको छैन । पुरातत्व विभागले पुरानै सामग्री प्रयोग गरेर निर्माण गर्ने सुनिश्चितता खोजेर क्षतिग्रस्त विद्यालय भत्काउने अनुमति दिएको छैन ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइले अहिले रहेको रानीपोखरीको छेउको भवन भत्काएर सोही ठाउँमै चारतले भवन बनाउने प्रस्ताव गरेको छ ।
बाहिरबाट हेर्दा पुरानै शैली देखिने, तर भित्र बलियोका लागि सिमेन्ट र छडसमेत प्रयोग गर्ने प्रस्ताव छ । पुरातत्व विभागले सिमेन्ट र छड प्रयोग गर्न अनुमति दिन मानेको छैन । ‘बाहिरबाट हेर्दा पुरानै शैली झल्किने गरी भित्र सिमेन्ट र रड पनि प्रयोग गर्ने प्रस्ताव छ,’ एकाइ प्रमुख श्रेष्ठले भने, ‘दिनभर विद्यार्थी बसेर पढ्ने भवनमा पुरानै शैलीका नाममा कमजोर भवन बनाउन मिल्दैन, सयौँ विद्यार्थीलाई जोखिममा राख्न मिल्दैन ।’