धनगढी । सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज (सोमबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आह्वान गरेको पहिलो बैठक प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बस्ने छ ।
बैठकमा शुभकामना आदानप्रदान गर्ने, सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने र प्रदेशसभा नियमावली संशोेधनको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । प्रदेशसभा सञ्चालनसम्बन्धी नियमावलीमा केही संशोधन गर्नुपर्ने देखिएकोले सोसम्बन्धी शंसोधन प्रस्ताव जान सक्ने सूचना अधिकारी जैशीले दिए ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा कांग्रेसका १९, माओबादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादी पार्टीका ४, राप्रपाका एक जना र स्वतन्त्र १ जना सदस्य छन् ।