काठमाण्डौ । देशका धेरै ठाउँको मौसम परिवर्तनसंगै चिसो बढेको छ । दिउँसो केही ठाउँमा घाम लाग्ने भएतापनि केही ठाउँमा भने आंशिक बदली भइरहेको मौसमविद्हरु बताउछन् ।
उनीहरुका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारणले जाडो भने बढ्दै गएको हो । केही दिनयता बादल लाग्न थाले पनि तत्काललाई वर्षाको सम्भावना कमै रहेको छ ।
देशका प्रायजसो भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएको छ भने तराईका जिल्लामा बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ढाक्दै गएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध गरेको छ ।