काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । उनी नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बन्ने भएका हुन् ।
आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको सात दलीय बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति बनेको हो । सुरुमा ओली र प्रचण्ड बसेर साँढे दुई वर्ष दुवै आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति बनेको हो ।
प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्दैछन् । यसअघि उनी पहिलो संविधानसभापछि प्रधानमन्त्री बनेका थिए । दोस्रो संविधानसभापछि पनि उनी प्रधानमन्त्री बने ।
यसअघि प्रचण्डले प्रधानमन्त्रीको दाबी गर्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका थिए । त्यसलगत्तै प्रचण्ड बालकोट पुगी ओलीसँग सहमति गरेका थिए । यसले राजनीतिलाई नयाँ घटनामा मोडेको छ ।