काठमाडौं । चाल्स शोभराज, जस्को आपराधिक जीवनबारे उपन्यास लेखिए चलचित्र बने । विभिन्न देशमा अपराध गरेका उनी नेपालमा १९ वर्षअघि पक्राउ परी वृद्ध भए ।
शोभराज कुख्यात अन्तर्राष्ट्रिय अपराधी हुन् । उनीमाथि विश्वका विभिन्न देशमा हत्या र लागूऔषध तस्करीको अभियोग छ । हाल भियतनाममा रहेको र तत्कालीन फ्रान्सको साइगोनमा ६ अप्रिल सन् १९४४ मा शोभराज जन्मिएका हुन् । उनका पिता भारतीय मूलका र आमा भियतनामी हुन् । तर, पिताले उनलाई स्वीकारेनन् । त्यसपछि उनकी आमाले फ्रान्सका सैनिक अधिकृतसँग विवाह गरिन् । शोभराज उनीहरुसँगै हुर्किए । पछि आमा र उनका नयाँ पतिबाट बेवास्तामा परे । उनी विस्तारै अपराध कार्यमा लागे ।
शोभराज किशोरावस्थाबाट नै चोरी र लुटपाटमा संलग्न भएका थिए । सन् १९६३ मा पेरिसमा चोरीको अभियोगमा पक्राऊ परे । जेलमा उनको ठूला अपराधीसँग भेट भयो । त्यसपछि उनी पेरिसको संभ्रान्त देखि अन्डरवल्र्डसम्मको संगतमा परे । विभिन्न अपराधमा खोजीको सूचीमा परेपछि नक्कली कागजपत्रसहित एशियातर्फ भागे । उनी पर्यटकहरुलाई लुट्थे । कतिपय घटनामा हत्या पनि गर्थे । शोभराज जुवाडे थिए । भारत, अफगानिस्तान, ग्रीसलगायतका देशमा चोरी र डकैतीको अभियोगमा पक्राउ परे । तर, जेलबाटै फरार भए । उनी अपराध गर्दा हत्या गरेका वा लुटिएकाको पासपोर्ट दुरुपयोग गर्थे ।
शोभराजले २० भन्दा बढी पर्यटकको हत्या गरेको उल्लेख छ । थाइल्यान्डमा मात्र १४ जनाको हत्या गरेका छन् । उनी भारतमा सन् १९७६ देखि १९९७ सम्म २१ वर्ष जेल परेका थिए । भारतको चर्चित तिहाड जेलमा बस्दा उनले जेल प्रशासनलाई घूस दिएर विलासी जीवन बिताएको चर्चा पनि चल्यो । सन् २००३ मा नेपाल आउँदा पक्राऊ परेका थिए । नेपालमा १९ वर्ष जेलजीवन बिताइसकेका शोभराज वृद्धावस्थामा छन् ।
शोभराजका बारेमा उपन्यास लेखिएका छन् । चलचित्र, नाटक देखि वृत्तचित्रहरु बनेका छन् । भारतमा मे और चाल्र्स चलचित्र बनेको छ । नेपालमा ८ पौष २०३२ सालमा मनहरा खोलानजिकै कोन्नी जो ब्रोन्जीचको हत्या गरेको पुष्टि भएको थियो । धारिलो हतियार प्रहार गरी हत्यापछि लासलाई नचिनिने गरी जलाई फालेका थिए ।




