गोपाल पोखरेल । १ चैत्र, उदयपुर । सरकारले स्थानीय संरचनामा गरेको परिवर्तनको निर्णयसंगै उदयपुरका जनता अन्यौलमा परेका छन् । सरकारले पूर्व तयारी नै नगरी स्थानीय निकायका पुराना संरचना बिघटन गरी नयाँ संरचना घोषणा गरेको भन्दै सर्वसाधारण अन्यौलमा परेका हुन् ।
सरकारले गत शुक्रवार स्थानीय निकायको पुरानो संरचना भंग गरेर ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा ल्याएको छ । तर सरकारले पूर्व तयारी विना पुराना संरचना खारेज गर्नु सर्वसाधारणका लागि अन्योलताको विषय भएको छ । उदयपुरका सर्वसाधारण सरकारको यो निर्णयबाट थप झण्झट सिर्जना गर्ने भएको वताउछन् ।
नयाँ संरचना अनुसार काम गर्ने कर्मचारी, स्थान र सहजता लगायतका विषयमा सरकारले महत्व दिन नसकेको उनीहरुको आरोप छ । कतिपय सर्बसाधारणले आफ्नो जन्मेदेखि अहिलेसम्मको ठेगाना परिबर्तन गर्नेजस्तो महत्वपूर्ण विषयको जानकारी आफुहरुलाई नभएको गुनासो गरेका छन । आफ्नो वडा परिवर्तन हुँदा सम्पूर्ण परिवारकै ठेगाना परिवर्तन भएको र सो कुराको जानकारी सन्चारमाध्यमबाट मात्र थाहा पाएको उनीहरुको भनाई छ । नयाँ संरचना अनुसार सार्बजनिक निकायमा आफ्ना काम लिएर जाने कुरामा समेत सर्वसाधारणमा अन्यौलता थपिएको उनीहरु बताउँछन् । सरकारले नयाँ संविधानको कार्यान्वयनमा गर्ने र स्थानीय निकायको निर्बाचन गर्ने सिलसिलामा स्थानीय निकायका पुराना संरचना खारेज गरेको हो । तर, यस विषयमा सर्बसाधारणमा खासै जानकारी छैन । तसर्थ सरकारले नयाँ संरचनाअनुसार तत्काल कर्मचारी व्यवस्थापन गरी सर्वसाधारणमा रहेको अन्योल हटाउनु जरुरी देखिन्छ ।




