काठमाडौं, ६ पुष । प्रदेशसभाको समानुपातिकतर्फको गणना पुस २ गते सकाएको निर्वाचन आयोग सिट बाँडफाँटको अन्तिम तयारीमा जुटेको छ ।प्रतिनिधिसभातर्फको सिट टुंगो लगाउन भने अझै केही समय लाग्ने आयोगले जनाएको छ ।
प्रदेशसभाको कूल ५५० सिटमध्ये २२० समानुपातिक प्रणालीमार्फत छनोट गर्ने व्यवस्थाअनुसार मतदान भएको थियो । प्रत्यक्षतर्फको ३३० स्थानको परिणाम भने आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा रहेको समानुपातिक निर्वाचन एकाइको कार्यालयले मत परिणामको पुनः परीक्षण गरिरहेको र त्यसले प्रतिवेदन बुझाएलगत्तै घोषणा हुने जानकारी दिए ।
प्रदेशसभामा राष्ट्रिय दलको मान्यता पाएका ५ दलसहित प्रदेश नम्बर १ मा राप्रपा, २ मा नेपाल संघीय समाजबादी पार्टी र प्रदेश नम्बर तीनमा विवेकशील साझा र नेमकिपाले एक एक जना सांसद पठाउन पाउनेछन् ।
समानुपातिक निर्वाचन प्रणालीको कूल सदरमतको १।५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था निर्वाचन आयोगले गरेको छ । कुल सदर मतको एक दशमलव पाँच प्रतिशतभन्दा कम मत ल्याएकाको गणना हुनेछैन ।
सवै ठाउँको मत रुजु गरी सम्बन्धित निर्वाचन अधिकृतले कागजात बुझाइसकेपछि संघीय प्रतिनिधिसभाका लागि पनि ७ दिनको समय दिएर दलहरुलाई पत्र पठाइनेछ ।