सदिप शर्मा माउन्टेन टेलिभिजन । इतिहास शिरोमणि बाबुराम आचार्य, ओस्ताद गणेशलाल श्रेष्ठ साहित्यकार झमक कुमारी घिमिरे, गायक तथा संगितकार भिम बिराग, खड्ग गर्बुजालगायतलाई नेपालीले राष्ट्रको गहनाका रुपमा लिने गरेका छन् । उहाँहरु शारीरिक अपाङगता हुँदाहुँदै पनि आ–आफ्नो क्षेत्रमा सफल हुनुभयो । तर हाम्रो समाजमा शारीरिक अपाङ्गता भएका थुप्रै व्यक्ति छन् जो परिवार र समाजमै अपहेलनाको पात्र त बन्नु परेकै छ राज्यलेसमेत वास्ता नगर्दा आफ्नो क्षमताको सदुपयोग गर्न सकिरहेका छैनन् । उनी कृषिता अधिकारी, उनले समाजशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छिन । पढाइ पूरा गरे पनि क्षमता अनुसारको रोजगारी पाएकी छैनन् । यसको एउटै कारण हो कृषिताको शारीरिक अपाङगता । आफूसँग क्षमता भए पनि सदुपयोग गर्न नपाउँदा उनलाई दुःख लागेको छ ।
कृषिता मात्रै होइन सुनसरीकी सरिता थुलुङको भोगाई पनि उस्तै छ । उनले केही बर्ष पहिले ल्याब टेक्निसियनका लागि काठमाडौंकै एक अस्पतालमा नाम निकालिन् तर अपाङ्गता भएकै कारण जागिर गुमाउनु प¥यो । स्नातकोत्तरको अध्ययन पूरा गरेर अहिले आफ्नै व्यवसाय सुरु गरेकी सरितालाई बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिन पनि पत्याएनन ।रोजगारी र व्यसायको क्षेत्रमा मात्रै होइन, सार्वजनिक स्थानहरुमा समेत अपाङ्गता भएका व्यक्तिहरुले पाउने दुःखका पहाड छन् । सार्वजनिक स्थल र सडक पेटी अपाङ्गतामैत्री नहुँदा हिँडनै मुस्किल हुन्छ । सार्वजनीक यातायात चढ्दा पनि राज्यले छुट दिएको भाडामा समेत ठगिनु परेको छ ।
हुन त राज्य संञ्चालन गर्ने निकायमा बस्ने व्यक्तिहरुले अपाङ्गताको क्षेत्रमा आफुहरुले धेरै काम गरेको तर्क गर्छन् । तर वास्तवमा पूर्णरुपमा अपाङ्गता भएका र पहुँच नभएका व्यक्तिहरुलाई हेर्ने हो भने राज्य संञ्चालनमा बस्ने व्यक्तिहरुका तर्कहरु फगत लाग्छन् । त्यसैले पूर्णरुपमा अपाङ्गता र कम पहुँच भएका यस्ता नागरिकतर्फ सत्ताको साँचो बोक्नेहरुकोे ध्यान जान जरुरी छ ।