आज मोक्षदा एकादशी एवं गीता जयन्ती मनाइदै । | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज मोक्षदा एकादशी एवं गीता जयन्ती मनाइदै ।

आज मार्ग शुक्ल एकादशी तिथि मोक्षदा एकादशी ब्रत, बैदिक सनातन धर्मावलम्बीहरुले बिशेषगरि भगवान नारायणको पूजा तथा उपासना गरेर मनाईरहेका छन् । यो दिनलाई नेपाल तथा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दु धर्मावलम्बीहरूले पर्वको रूपमा नै मनाउने गरेका छन् । मोक्षदा एकादशीका बारेमा पद्मपुराणको एउटा प्रसङ्गमा उल्लेख छ । जसमा भगवान श्रीकृष्ण तथा धर्मराज युधिष्ठिर सँगको सम्बाद रहेको छ । मार्गशीर्ष शुक्लपक्षको एकादशीका दिन तुलसीको मञ्जरी, धूप–दीप आदिद्वारा भगवान दामोदरको पूजन गर्नुपर्ने उल्लेख छ । यसैगरि धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व समेत मनाइँदैछ । पाँच हजार १२९ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धको समय पारेर विष्णुको आठौं अवतारका रुपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रहिआएको छ । मोक्षदा एकादशीले ठूला–ठूला पातकहरूको नाश गर्ने सामर्थ्य राख्ने समेत उल्लेख छ ।

यस दिन उपवास गरेर श्रीहरिको नाम–संकीर्तन, भक्तिगीत, नृत्य गर्दै रात्रिकालमा जागरण गर्नुपर्ने नियम छ । मार्गशीर्ष शुक्ल एकादशीका दिन कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्गीताको उपदेश गर्नु भएको हो। अतः यो तिथि गीता जयन्तीका नामबाट पनि विख्यात छ । यस दिनदेखि गीता–पाठको अनुष्ठान प्रारम्भ तथा प्रतिदिन यथासम्भव गीता पढ्नुपर्ने पनि बताईएको छ। गीतारूपी सूर्यको प्रकाशद्वारा अज्ञानरूपी अन्धकार नष्ट हुन्छ । भगवान भन्नुहुन्छ यस एकादशीको एक दिनको पुण्य प्राणीका निम्ति नरकबाट मुक्ति प्रदान गर्ने मानिन्छ। यस सन्दर्भमा लीलाधारी भगवान श्रीकृष्णले धर्मराज युधिष्ठिरलाई मोक्षदा एकादशीको कथा समेत सुनाउनु भएको थियो । जस अनुशार एकजना वैखानस नाम गरेका राजा थिए उनको राज्यमा सबै सुख–शान्ति पूर्वक बस्दथे। योगी, मुनि, सिद्ध, सन्त सहित सबै जीवजन्तु बिना कुनै भय आआफ्ना कर्ममा लिप्त थिए। यी प्रजापालक राजाले एक रात स्वप्नमा आफ्ना पिता नर्कको यातना भोगिरहेको दृश्य देख्छन्। राजा आफ्ना पिताको त्यो अवस्था देखेर छट्पटिएर र रातभरि निदाउन सकेनन। बिहान सूर्य उदय हुनासाथै उनी ज्ञानी पण्डित र विद्वानको शरणमा पुग्छन्। जे जस्तो स्वप्नमा देखेका थिए त्यो विवरण सुनाएपछि राजाका कुरा सुनेर पण्डितहरूले उनलाई त्रिकालदर्शी ऋषि पर्वतसमक्ष जाने सल्लाह दिन्छन्। राजा पर्वतका कुटीमा पुगेर विनम्रता पूर्वक उनीसँग आफ्नो समस्या बताउछन्। राजाको अधीरता र छट्पटीलाई देखेर महाज्ञानी पर्वतले राजालाई उनको पिताले आफ्नो एउटा गल्तीको सजाय भोग्दै गरेको बताउछन्। र उनलाई नरकबाट मुक्त बनाउन मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात मोक्षदा एकदशीको व्रत लिनु पर्ने सल्लाह दिन्छन्। यस एकादशीको पुण्य आफ्ना पितालाई दिनुपर्ने बताउर्छ्न्। यसो गरेमा राजाका पिता नर्कबाट मुक्त हुने कुरा बताएपछि राजाले विधिपूर्वक एकादशीको व्रत गरेर प्राप्त पुण्य पिताजीलाई अर्पित गरेपछि राजा वैखानसका पिता यस मोक्षदा एकादशीको पुण्यको प्रभावले तुरुन्त नर्कबाट मुक्त भएर स्वर्गमा स्थान प्राप्त गर्ने कथा प्रसंग पाईन्छ ।ा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);