काठमाडौं, २९ मंसिर । नेकपा एमालेले राजनीतिक सहमति नभई सरकारले ल्याएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश मान्य नहुने चेतावनी दिएको छ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रपति कार्यालयमा विचाराधिन राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा छिटो राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए ।
सरकारले आफूहरुसँग गरेको सहमति विपरित राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश राष्ट्रपति समक्ष पेश गरेकोमा महासचिव पोखरेलको आपत्ति प्रकट गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले दलीय सहमतिको आधारमा मात्रै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अघि बढाउनु बुद्धिमत्तापूर्ण हुने बताए ।
महासचिव पोखरेलले सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले स्विकृति दिएपनि त्यो संसदबाट फेल हुने भएकाले त्यसो गर्न नहुने पोखरेलको सुझाव छ ।
महासचिव पोखरेलले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओलीले गर्ने बताए । निर्वाचनको परिणाम, राष्ट्रिय राजनीतिमा ओलीको खेलेको भूमिका र मुलुकको आवश्यक्तालाई हेर्दा पनि ओली नै भावी प्रधानमन्त्री हुनेमा कुनै विवाद नभएको उनले बताए ।
महासचिव पोखरेलले नयाँ सरकार जनताको चाहना र मुलुकको आवश्यक्ता अनुसार अघि बढ्ने विश्वास प्रकट गरे । महासचिव पोखरेलले नयाँ सरकार गठन प्रक्रिया र माओवादी केन्द्रसँगको पार्टी एकता सँगसँगै अघि बढ्ने स्पष्ट पारे । उनले देश र जनताको हितमा केन्द्रित भएर दुई पार्टी एकीकरण गर्न लागिएको बताए ।