बैतडीका मुक्त हलिया कहिले हाेलान् मुक्त ?, उम्मेदवारकै घरमा ७३ वर्षदेखि हलिया | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

बैतडीका मुक्त हलिया कहिले हाेलान् मुक्त ?, उम्मेदवारकै घरमा ७३ वर्षदेखि हलिया

बैतडी।  २१ भदौ ०६५ मा नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो । शुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका ६० हजार हलिया मुक्त भएको भनिए पनि उनीहरूकाे माग अझै सम्बोधन हुन सकेकाे छैन । त्यसबेला करिब १४ हजार हलियालाई पुनर्स्थापना गरिए पनि ४५ हजारभन्दा बढी अझै अलपत्र छन् ।  उतिबेला सरकारले मुक्त हलिया पुर्नस्थापनाका लागि सहमति गरेको थियो । घरजग्गा नभएकालाई घरजग्गा उपलब्ध गराउने, जग्गा मात्रै भएकाको घर बनाइदिने तथा घर जिर्ण भएकाको मर्मत गरिदिने सम्झौता भएका थिए । हालसम्म मुक्त हलियामध्ये १४ हजार दुई सयको पुर्नस्थापना भए पनि अन्यको विषयमा सरकार मौन देखिन्छ । निर्वाचनकाे बेला उनीहरूकाे मागमाथि नेताहरूले चर्चा गर्ने गरे पनि निर्वाचनपछि सेलाउने गरेकाे छ । यद्यपि, उनीहरूले आफ्ना समस्या उम्मेदवारहरूलाई सुनाउन भने छाडेका छैनन् । पटक पटक सरकार परिवर्तन हुँदा समेत मुक्त हलिया झन् समस्यामा परेका हुन् । अहिले बैतडीमा रहेको करिब ६ हजार मुक्त हलियाहरू पुर्नस्थापनाको दायरामा आउन सकेका छैनन् । साहुुबाट लिएको ऋणको ब्याज बापत हलिया बस्ने चलन थियो । हलिया बस्दा साहुको घरमा हलो जोत्नेदेखि खेतिपाति भित्र्याउने सबै काम गर्नु पर्थ्याे । ०६४ सालमा हलिया मुक्तिको घोषणासँगै अधिकांशले साहुको घरमा काम गर्न छाडेका थिए तर अहिलेसम्म पुर्नस्थापना नभएपछि उनिहरु पुनः हलिया बसेका छन् । मुुक्त हलियाहरू अहिले उम्मेदवारहरूसँग आफुहरूको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिदिन आग्रह गरिरहेका छन् । उम्मेदवारहरू समेत उक्त कुराहरुको पुर्ति गर्ने आश्वासन दिइरहेका छन् ।

उम्मेदवारकै घरमा ७३ वर्षदेखि हलिया 

प्रदेशसभातर्फका एक उम्मेदवारको घरमा एक दलित परिवार ७३ बर्षदेखि हलियाको रुपमा काम गर्दै आएको छ । बैतडी क्षेत्र (ख)मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता शिवराज भट्टले किशन लाबडको परिवारलाई हलियाको रुपमा लगाउँलै आएका छन् । दशरथचन्द नगरपालिका-२ देहीमाडाैं घर भएका उम्मेवदार भट्टले लाबडको परिवारलाई हलियाको रुपमा राखेका हुन् । हलिया बसेका लाबडले भने, ‘हामी तीन पुस्तादेखि उहाँको घरमा काम गर्दै आएका छौँ, मेरो बुवा २८ बर्ष हलिया बस्नु भयो । म पनि ४५ बर्षदेखि हलिया छु, तराईमा जग्गा दिउँला भन्ने आश्वासन दिएको ५० बर्ष भैसक्यो । आश्वासन पुरा होलाकी भन्ने आश हो । हाम्रो अन्य रोजगारी केहि छैन् । साहुकै खेतमा हलो जोत्ने, खेतबारी खन्ने, अन्न भित्र्याउने काम गर्दै आएका छौँ ।’ उम्मेदवार भट्ट जिल्लाका नाम चलेका व्यापारीका छोरा हुन् भने कांग्रेस बैतडीका पूर्व सभापति समेत हुन् । बैतडीका अन्य उम्मेदवारका घरमा समेत हलिया रहेकाे दलित अधिकारकर्मी राजुराम भुलको भनाइ छ । उनले प्रदेशसभा र प्रतिनिधिसभाका अधिकांश उम्मेदवारले अझै हलिया राखेका कारणा मुक्त हलियाको पक्षमा काम हाेला भनेर आश गर्न नसकिने बताए । दनपा-२ कै मुक्त हलिया मोहन लाबडले आफू १२ वर्षको उमेरदेखि साहुकाे घरमा हलो जोत्न थालेको सुनाए । पाँच जना साहुको घरमा हलिया बसेका उनले सबैको पैसा तिरेर हलियामुक्त भएको बताए । तर, हलिया मुक्ति घोषणाका बेला भने सरकारले ऋण रकम सबै चुक्ता हुने र पैसा तिर्नु नपर्ने समेत निर्णय सार्वजनिक गरेको थियो।

हलियाहरू एक हजारदेखि पाँच हजार रुपैयाँ ऋणको ब्याज बापत समेत हलिया बस्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);