काठमाडौं । सरकारले स्थानीय तहको संख्या सातसय ४४ कायम गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई सामान्य परिमार्जन गरी उक्त संख्या कायम गरेको संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताउनुभयो ।
आयोगले स्थानीय तहको संख्या सातसय १९ कायम गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णय राजपत्रमा सूचना प्रकाशन गरी सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन आयोगमा पठाउने जानकारी पनि उहाँले दिनुभयो ।
सबै पक्षलाई निर्वाचनमा सहभागी गराउन तथा राजनीतिक समझदारीका आधारमा स्थानीय तहको संख्या र संरचनाबारे सरकारले अझै आवश्यक निर्णय लिने निर्णय गरेको मन्त्री पाण्डेले बताउनुभयो ।
प्राविधिक सहयोग समितिले गरेको निर्णयका आधारमा खोटाङ र नुवाकोटको समस्या समाधान गर्ने तथा मनाङमा संविधानको भावनाअनुसार तीनको सट्टा चारवटा इकाइ बनाउने र बझाङको काँडा गाविसमा एउटा इकाइ थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उहाँले बताउनुभयो ।
नुवाकोटमा पुरानै सिफारीस अनुसार बेलकोटगढी नगरपालिका र लिखु गाउँपालिका तय भउको छ । काठमाडौँका शंखरापुर र दक्षिणकाली नगरपालिकालाई यथावत राखिने पनि निर्णय भएको छ ।
त्यसैगरी, बैठकले निर्वाचनको तयारी गम्भीर ढङ्गले अगाडि बढिरहेका बेला कर्मचारीलाई बन्द, हडतालमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।