काठमाडौं । नेपालले पहिलोपटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने अवसर गुमाएको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशले नेपाललाई ३१ को गोल अन्तरले हराउँदै उपाधिमा कब्जा जमायो ।
सुरुदेखि रोमाञ्चक बनेको खेलमा नेपालले गोलका थुप्रै सुन्दर अवसरहरु सिर्जना गरे पनि फिनिसिङमा चुक्यो । नेपाली खेलाडीहरु मैदानमा निकै अठोटका साथ भिडेका थिए । तर, भाग्यले पनि नेपाललाई साथ दिएन । एकपटक गोललाइनमै पुगेको बल पनि गोलमा परिणत भएन ।
खेलको १३ औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशकी सामसुननहरले निकै आकर्षक गोल गर्दै नेपाली समर्थकलाई स्तब्ध पारिन् । यस्तै खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले दोस्रो गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले उत्तरार्द्धमा एक गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो । तर, बंगलादेशकी श्रीमोतीले दोस्रो व्यक्तिगत गोल गर्दै नेपाली समर्थकको आशामा पानी खन्याइदिइन् ।
खेलको पहिलो आफ प्रतिस्पर्धात्मक थियो भने दोस्रो हाफमा नेपालले बंगलादेशलाई निरन्तर दबाबमा राखेको थियो । तर, बंगलादेशको रक्षपंक्ति र गोलरक्षकको बलियो पर्खाल नेपालले तोड्न सकेन ।