काठमाडौं। सुनसरी, कपिलवस्तु, इलाम र चितवनमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानीमा प्रदेश नं.१–०४–००१ प ८१३८ नम्बरको मोटरसाइकल को.१ च ७१८६ नम्बरको पिकअपमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ धनपालथान गाउँपालिका–२ बस्ने २० वर्षीय धिरज मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ पानीधारास्थित सडकमा लु.२९ प ४०४३ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्घाखाँची शितगंगा नगरपालिका–१३ बस्ने २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको ४ नम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । इलामको रोङ गाउँपालिका–४ भालुझोडामा मे.१ क ६५४ नम्बरको मिनी ट्रकलाई ओभरटेक गर्ने क्रममा मे.४ प ८३५५ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्योदय नगरपालिका–४ बस्ने ३९ वर्षीय रत्न कुमार थापा मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । चितवनको राप्ती नगरपालिका–९ पिङटोलमा ना.४६ प ३७९३ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय प्रेम तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।