महागढीमाई नगर प्रमुख र उपप्रमुखबीचकाे विवादले चार महिनादेखि नगर सभा बस्न सकेन  | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

महागढीमाई नगर प्रमुख र उपप्रमुखबीचकाे विवादले चार महिनादेखि नगर सभा बस्न सकेन 

बारा। नगर प्रमुख उपेन्द्रप्रसाद यादव र उपप्रमुख तारादेवी कानुसहित कार्यपालिकाका बहुमत सदस्यहरूबीचको असमझदारीले महागढीमाई नगरपालिकामा विवाद बढ्दै गएको छ ।  गत स्थानीय निर्वाचनमा दुवैजना नेपाली कांग्रेसबाट विजयी भएका थिए । नगरपालिकामा अहिले प्रमुख यादव र उपप्रमुख कानुसहित कार्यपालिकका बहुमत सदस्यहरू दुई ध्रुवमा विभाजित भएका छन् । कार्यपालिकामा भने एमाले र जनता समाजवादी पार्टीको बहुमत छ। मेयर यादव र कार्यपालिका बहुमत सदस्यहरूबीचको विवादले निर्वाचन सम्पन्न भएको चार महिना बित्न लागिसक्दा पनि नगर सभा बस्न सकेको छैन । नगर सभा हुन नसक्दा चालू आर्थिक वर्षको बजेट पारित हुन नसकेको मात्रै होइन, नगरपालिकाका कर्मचारी, शिक्षकको तलब र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको भत्ता वितरणसमेत राेकिएकाे छ ।  अल्पमतमा रहेका नगर प्रमुख यादवले सबैको सहमतिमा काम गर्नुको साटो एकलौटी र मनोमानी रूपमा काम गर्न खोजेपछि विवाद चुलिएको उपप्रमुख कानुले बताइन् । अल्पमतमा परे पनि नगर उपप्रमुख कानु र कार्यपालिकाका सदस्यहरूलाई बेवास्ता गर्दै अघि बढ्न खोजेपछि मेयर यादवलाई नगर सभा गर्न समस्या भएको बताइएको छ ।  आफ्नै पार्टीबाट विजयी उप्रमुखलाई समेत मेयर यादवले बेवास्ता गरेको आरोप छ । ‘म कार्यपालिका सदस्यहरूलाई विश्वासमा लिएर काम गर्नुपर्ने पक्षमा छु,’ उपप्रमुख कानुले भनिन्, ‘तर मेयर यादवले अन्य दलबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको त कुरै छाडौं एउटै दलबाट निर्वाचित ममाथि समेत शंका गरेका छन् ।’  ११ वटा वडा रहेको महागढीमाईमा कांग्रेसले मेयर र उपमेयरमा जित हात पारे पनि वडाध्यक्षमा भने एमाले र जसपाको बहुमत छ । कार्यपालिकाको सदस्य निर्वाचनको क्रममा उपमेयर कानुलाई मतदान गरेको मतपत्र आफूलाई देखाउन मेयर यादव दबाब दिएपछि दुवैबीच अविश्वास सुरु भएको थियो ।   आफूले मतदान गरे पनि कार्यपालिका सदस्यमा कांग्रेस उम्मेदवारहरू पराजित बनेपछि मेयर यादव अराजनीतिक रूपमा प्रस्तुत हुन थालेको र आफूमाथि बारम्बार अभद्र व्यवहारसमेत हुँदै आएको उपमेयर कानुले आराेप लगाइन् । कार्यपालिकाका सबै सदस्यमा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारहरू विजयी बनेका थिए । उपमेयर कानुको कार्यकक्षमा मेयर यादवले सुनियोजित ढंगले तोडफोड गर्न लगाएको आरोप पनि छ । अस्पतालको सामान्य विषयलाई बहाना बनाएर आफ्ना नजिकका महिलालाई प्रयोग गरेर मेयर यादवले कायकक्षको ढोका तोडफोड गर्न लगाएको मेयर यादवमाथि आरोप लाग्दै आएको छ।

११ वटा वडा रहेको महागढीमाई नगरपालिकामा कांग्रेस र एमालेबाट चार-चारजना वडाध्यक्ष विजयी बनेका छन् । जसपाबाट दुई र एकीकृत समाजवादीबाट एकजना वडाध्यक्षमा विजयी भएका छन् । नगर कार्यपालिका सदस्यको निर्वाचनपछि भने नगर कार्यपालिकामा विपक्षी दलहरूको दुई तिहाइभन्दा बढी मत छ । अल्पमतमा परेपछि नगर प्रमुख यादवले एकलौटी रूपमा नगर सभा गराउने असफल प्रयाससमेत गरेका थिए । नगरपालिका बोर्डमा अल्पमतमा परेपछि सबैको सहमतिमा काम गर्नुको विकल्प नभएको उपप्रमुख कानुको भनाइ छ । मेयर यादवको अराजनीतिक र असहिष्णु व्यवहारले नगरपालिका अस्तव्यस्त बनेको कार्यपालिकाका एक सदस्यले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);