काठमार्डौ । नेपालबाट चालू आर्थिक वर्षमा साढे १२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकअनुसार चालू वर्षमा १२ करोड ४७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट २०३ किलोग्राम यार्सागुम्बा निर्यात भएको तथ्यांकमा उल्लेख छ । नेपालबाट विश्वका ७ वटा देशमा यार्सागुम्बा निर्यात भएको भन्सार विभागले जनाएको छ । कम्बोडिया, हङकङ, दक्षिण कोरिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनामले नेपालसँग यार्सागुम्बा किन्ने गरेका छन् ।
यीमध्ये कम्बोडियामा ६ करोड ४५ लाख रुपैयाँको यार्सागुम्बा निर्यात हुँदा हङकङमा ५ करोड ४ लाख रुपैयाँको यार्सागुम्बा निकासी भएको छ । यसैगरी, सिंगापुरमा १२ लाख ७७ हजार, बेलायतमा १९ लाख, अमेरिकामा ५० लाख र भियतनाममा १५ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।