काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस सहित सत्तारुढ दल र मधेसी मोर्चाको बैठक बोलाउनुभएको छ ।
बैठकमा संविधान संशोधन विधेयक र स्थानीय निकायको चुनावबारे सहमति खोजिने छ । प्रधानमन्त्री दाहालले सत्तारुढ माओवादी र कांग्रेस तथा सरकारलाई समर्थन गर्ने मधेसी मोर्चाको बैठकमा संविधान संशोधन विधेयकलाई पनि अघि बढाउने र स्थानीय तहको निर्वाचनमा मोर्चाको सहमति लिने प्रयास थाल्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संशोधन विधेयक र चुनावमा सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।
सोमबार मधेसी मोर्चाका नेताहरुसँग भएको अनौपचारिक छलफलमा प्रधानमन्त्रीले दुई तिहाई नपुग्दासम्म संशोधन रोक्न प्रस्ताव गर्नुभएको थियो । मधेसी मोर्चाले भने जसरी पनि परिमार्जन सहित संविधान संशोधनको ग्यारेन्टी भए मात्र निर्वाचनमा जान सकिने जवाफ दिएको थियो ।




