काठमाडौं, १८ मंसिर । निर्वाचन आयोगले २१ गते हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारलाई पुनः आग्रह गरेको छ ।
काठमाडाैँका विभिन्न स्थानमा सोमबार बम विष्फोटका घटनाले आतंकित बनाईरहेका बेला निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह मन्त्रालयलाई पुनः सचेत गराएका छन् ।
उनले काठमाडौसहित देशका बिभिन्न भागमा उम्मेदवारलाई नै लक्षित बनाएर बम विष्फोट भईरहेकोमा निर्वाचन आयोग चिन्तित रहेको स्पष्ट पारे । सोमबार मात्रै काँग्रेस नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विष्फोट गराइएको छ ।
निर्वाचन आयोगका प्रवक्ता ढकालले उम्मेदवारलाई उचित सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई सचेत गराइएको बताए ।
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा संचालन भईरहेको पनि स्पष्ट पारेको छ । आयोगका प्रवक्ता ढकालले छोटो समयमा पनि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गरिएको बताए ।
बिहिबार ४५ जिल्लाका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन गत मंसिर १० गते नै सम्पन्न भईसकेको छ ।