काठमाडौं । परराष्ट्र मन्त्री डा नारायण खड्काले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री खड्काले गत ६ असारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ९ साउनमा नेपाल एसपीपीमा सहभागी नहुने कूटनीतिकमार्फत अमेरिकालाई जानकारी गराइसकेको जानकारी दिएका हुन् ।
‘साउन ९ गते तदनुसार २५ जुलाई २०२२ दिन कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाइएको जानकारी गराउन चाहान्छु,’ मन्त्री खड्काले संसद बैठकमा भने ।
सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको भन्दै आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राष्ट्रहितविरीत कुनै पनि सन्धि सम्झौता नहुने उनको प्रतिबद्धता छ ।