एजेन्सी, १४ मंसिर । उत्तर कोरियाले पछिल्लोपटक परीक्षण गरिएकोे अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल वायुमण्डलभन्दा माथि गएर फेरि वायुमण्डलमै प्रवेश गर्न सक्ने खालको रहेको दाबी गरेको छ ।
उत्तर कोरियाले पछिल्लो मिसाइल आफूले अहिलेसम्म परीक्षण गरेकामध्ये सबैभन्दा शक्तिशाली रहेको र यसले आफ्नो देशको परमाणु अभियानले तोकेको लक्ष्य पाएको दाबी गरेको छ । उत्तर कोरियाका नेता किम जोन–उनले बुधबार गरिएको मिसाइल परीक्षण निष्पक्ष रहेको र यो आफ्नो देशका लागि ब्रेकथ्रु भएको बताए । उत्तर कोरियाले द हवासङ–१५ नाम गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको बुधबार सफल परीक्षण गरेको थियो ।
उत्तर कोरियाले नयाँ मिसाइल अमेरिकाको पूरै क्षेत्रमा मार हान्न सक्ने क्षमताको भएको दाबी गरेको छ । विशेषज्ञले पनि अब वासिङटन उत्तर कोरियाको मिसाइल रेन्जमा आएको हुन सक्ने बताएका छन् । मिसाइल परीक्षणको अन्तराष्ट्रिय समुदायबाट आलोचना भएको छ । उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरेका छन् ।
चीन उत्तर कोरियाको ठूलो सहयोगीको रुपमा रहँदै आएकाले वार्ताका क्रममा ट्रम्पले जिनपिङसँग उत्तर कोरियालाई मनाउन सबै किसिमका प्रयास गर्न आग्रह गरेका हुन् ।