मर्निङ वाकमा निस्केका प्रचण्डले जब छोरा प्रकाशको मृत्युको खबर सुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २२ २०८१, शनिबार

काठमाडौं, ५ मंसिर । छोरा प्रकाशको निधन हुँदा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने झापामा थिए । पूर्वका चुनावी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा आएका हुन् ।ओली र प्रचण्डले शनिबार बिर्तामोडको बी एण्ड सी हस्पिटलमा पूर्वाञ्चल स्वास्थ्य महोत्सवको संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यहाँ उनीहरुले स्वास्थ्य परीक्षणसमेत गराए । शनिबार साँझ ओलीको गृहनगर दमकमा सम्बोधन गरेपछि केहीबेर ओली निवासमा बसेर प्रचण्ड बिर्तामोमै आएर बी एण्ड सी हस्पिटलको ‘गेस्ट हाउस’मा बास बसेका थिए।

आइतबार बिहान ‘मर्निङ वाक’मा निस्कने बेलामा प्रचण्डले छोरा प्रकाशको मृत्यु भएको जानकारी पाएका हुन् । श्रीमती सिताले बिहान ५ः४५ बजे प्रचण्डलाई टेलिफोन गरी घटनाबारे जानकारी गराएकी थिइन् । बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंसँग ‘मर्निङ वाक’ जान गेस्ट हाउसबाट ओर्लिंदै गरेका प्रचण्ड घटनाबारे थाहा पाउनेबित्तिकै थचक्कै भुइँमा बसेका थिए। ‘फोन राख्नेबित्तिकै मलाई ‘दुर्गाजी’ भन्नुभयो, त्यहाँभन्दा अरु केही बोल्न सक्नुभएन, मेरो हात समातेर थचक्कै भुइँमा बस्नुभयो,’ बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले सुनाए।

घटनाबारे जानकारी पाएपछि भावविह्वल बनेका प्रचण्डलाई बी एण्ड सी हस्पिटल पु-याइयो । उनी हस्पिटल पुगेको डेढ घण्टापछि काठमाडौँबाट उनलाई लिन हेलिकप्टर पुगेको थियो । हस्पिटलको छतमा ‘ल्याण्ड’ गरिएको हेलिकप्टर चढेर प्रचण्ड बिहान ८ः४० बजे राजधानी फर्किएका हुन् । प्रचण्डसँगै उनकी छोरी गंगा, ज्वाईं जीवन र सानी नातिनीसमेत थिए । उनीहरु सबै एउटै हेलिकप्टरमा राजधानी फर्किएका हन्।

शनिबार दमकमा सम्बोधन सकेपछि प्रचण्ड बिर्तामोडमा बास बसेपनि एमाले अध्यक्ष ओली भने दमकस्थित आफ्नै निवासमा बसेका थिए । घटनाबारे जानकारी पाउनासाथ बिहान ओली पनि प्रचण्डलाई काठमाडौँ बिदा गर्न बिर्तामोड पुगेका थिए । एमाले अध्यक्ष ओली र बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले हात मिलाएर प्रचण्डलाई बिदा गरेका थिए।

झापा र मोरङका चुनावी सभालाई सम्बोधन गर्ने ओली र प्रचण्डको कार्यतालिका तय भएको थियो । आइतबार झापाको क्षेत्र नम्बर १ मा सम्बोधन गरिसकेर मोरङको एउटा सभालाई सम्बोधन गरेपछि मात्रै राजधानी फर्किने उनीहरुको कार्यक्रम थियो। अब ती चुनावी सभाहरुलाई एमाले अध्यक्ष ओलीले सम्बोधन गरेर राजधानी फर्किएका छन्। – नयाँ पत्रिका दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);