काठमाडौँ, ५ मंसिर । कांग्रेसले संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । दुर्गमका केही उम्मेदवारले रकम लगे पनि बाँकीले रकम नलगेको कांग्रेसका एक नेताले अन्नपूर्णलाई जानकारी दिए । कांग्रेसले २०७० सालको संविधानसभा चुनावमा पनि प्रत्यक्षतर्फका उम्मेदवारलाई एक लाख रुपैयाँ निर्वाचन खर्च उपलब्ध गराएको थियो।
यता, एमालेले उम्मेदवारलाई चुनाव खर्च नदिने भएको छ । निर्वाचन प्रचार समितिका प्रवक्ता विष्णु रिमालले उम्मेदवारले कार्यकर्ताबाट एक हजारसम्म सहयोग लिन सक्ने तर सहयोग रकम लिएको रसिद पार्टीमा बुझाउनुपर्ने निर्देशन दिइएको बताए ।
अमेरिकामा रहेका पार्टीका शुभेच्छुकबाट एक हजार डलर, खाडी मुलुकका शुभेच्छुकबाट पाँच सय डलर र कामदारबाट सय डलर सहयोग मागिएको उनले बताए । ‘उम्मेदवारलाई एकमुष्ट रकम दिने गरिए पनि यसपटक त्यस्तो नीति परिवर्तन भएको छ’, उनले अन्नपूर्णसँग भने।
‘०७० को दोस्रो संविधानसभा चुनावमा समिति गठन गरेरै उम्मेदवारलाई पार्टीले चुनाव खर्चबापत पाँच लाख रुपैयाँ बाँडेको थियो । यसपटक भने उम्मेदवार आफैंले खर्च जुटाउन भनेको छ’, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। – अन्नपूर्ण पोस्ट दैनिकबाट