मदन विक
बाजुरा, ४ मंसिर । बाजुरामा यतिवेला चुनावी रौनक निकै छाएको छ । राजनीतिक दलका उम्मेदवारहरु जनताको घरदैलोमा प्रत्येक्ष भेटेर मत माग्न व्यस्त छन् भने निर्वाचन कार्यालयले पनि आफ्नो तयारी तिव्र रुपमा रुपमा अगाडि बढाएको छ ।
बाजुरामा रहेका ६९ हजार ८ सय ३४ जना मतदाता मध्ये ३ हजार भोटे जनजाती समुदायका तिन सय मतदाताहरु भने आगामी प्रदेश र प्रतिनिधी सभामा मतदान गर्नबाट बन्चित हुने भएका छन् । यस जिल्लाका जनजातिहरुको मुख्य पेशा भेडापालन भएकाले उनीहरु अहिले हिमाली भेगमा चिसो बढेपछि बसाईसराई गरेर बेसी झर्न थालेका छन् ।
जनजाति समुदायले अहिले आफ्ना भेडाहरु ल्याएर बाजुराको तल्लो क्षेत्र अछाम, बझागंका विभिन्न वन जंगलमा भेडाहरुलाई चराउनका लागि बेसी झरेका हुन् । बेसी झरेपछि आफूहरु आगामी निर्वाचनमा मतदान गर्नबाट बन्चित हुने हिमालि गाउँपालिका साविकको विच्छ्याका भेडापालक किसान प्रेम गुरुग (भोटे) ले गुनासो गरे ।
बर्षायामको बालि भित्र्याएर हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका र बुढिनन्दा नगरपालिका क्षेत्रमा बसोबास गर्ने भोटेजनजाती समुदायका भेडापालक किसानहरु यतिबेला आफ्ना भेडा बाख्रा र घरपरीवार संगै बेसी तिर झर्ने गरेका छन् ।
गाउँमा घर कुर्ने मान्छे बाहेक अरु सबै बेसी तिर झरेका छन् । स्थानिय तहको निर्वाचनमा देशभरीकै सबै भन्दा बढी ८१ प्रतिशत मतदान भएको थियो । यसपटक जिल्लामा रहेका करिव ३ हजार भोटे जनजाती समुदायका तिन सय मतदाताहरु भोटहाल्न बचित हुने स्थानीय तनि थापा भोटेले बताईन् ।
बाजुराका भोटे जनजाति समुदायको मुख्य पेशा भेडापालन हो । भेडापालन व्यवसाय भएकोले यस जिल्लाका भोटे जनजाति समुदायका स्थानीयहरुले यतिखेर बसाइसराई गर्ने मुख्य सिजन भएकोले निर्वाचन आयोगले भोटे जनजाति समुदायका मतदाताको लागि उचित वैकल्पिक मतदान स्थलको व्यवस्था गर्नुपर्र्ने नेपाल भोटे जनजाति केन्द्रिय समिति बाजुराका निवर्तमान अध्यक्ष नृप थापा भोटेले बताए ।
बाजुरा जिल्लामा प्रतिनिधी सभाको लागि एक निर्वाचन क्षेत्र र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचनमा ६९ हजार आठ सय ३४ ले मताधिकार प्रयोग गर्नको लागि ७० मतदान स्थल र एक सय मतदान केन्द्रहरुको ब्यवस्था गरिएको छ ।