किन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

किन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ?

काठमाडौं । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउद मंगलबार बंगलादेश प्रस्थान गरेका छन् ।

नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको इतिहासमा नेपालमा साउदीका तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमणमध्ये एक हो । यसअघि साउदी अरबका युवराज अल–वलिद विन तलालले नेपाल भ्रमण गरेका थिए । 

विन तलाललाई नेपाल सरकारले ‘महाउज्ज्वल राष्ट्रदीप’ पदवीबाट सम्मानित गरेको थियो । यो नेपालले विदेशी नागरिकलाई दिने सबैभन्दा ठूलो सम्मान हो । नेपालमा गणतन्त्र स्थापना भएपछि ‘महाउज्ज्वल राष्ट्रदीप’बाट सम्मानित हुने विन तलाल पहिलो विदेशी नागरिक बनेका थिए । 

विन तलालले साउदी राजकुमारको रुपमा २०६७ कात्तिक अन्तिम साता नेपालको भ्रमण गरेका थिए । विन तलालपछि साउदीबाट नेपालमा भएको दोस्रो उच्चस्तरीय भ्रमण पनि साउदी अरबको राजपरिवारका सदस्यबाट नै भएको छ । 

तर, यसपटक साउदले राजकुमारका रुपमाभन्दा पनि साउदी विदेशमन्त्रीको रुपमा नेपाल भ्रमण गरेका हुन् । साउदी विदेशमन्त्री मंगलबार विहान नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी बनेका थिए । बैठकमा दुई देशबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ (सहायता सम्झौता)मा हस्ताक्षर भएको थियो । सम्झौतामा पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री साउदले हस्ताक्षर गरेका थिए । 

बैठक समिएपछि साउदी विदेशमन्त्री साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार साउदी विदेशमन्त्री साउद एउटै मात्र उदेश्य बोकेर नेपाल भ्रमणमा आएका थिए । 

स्रोतका अनुसार उनले उक्त उदेश्यलाई नेपाल–साउदी बैठकमा स्पष्ट राखेका थिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार साउदी विदेशमन्त्रीले सन् २०२३ को अन्ततिर फ्रान्समा हुने अन्तरसरकारी निकाय ब्युरो इन्टरनेसनल एक्सपोजिसन् (बीआइई)को निर्वाचनमा आफ्नो देशको पक्षमा मत मागेका थिए । उनी यही मत माग्नको लागि नेपाल भ्रमणमा आएका थिए । 

बीआइईमा नेपाल लगायत विश्वका १७० राष्ट्र सदस्य रहेका छन् । सन् २०३० मा बीआइईले आयोजना गर्ने ‘वल्र्ड एक्स्पो २०३०’ को लागि रुस, दक्षिण कोरिया, इटाली, युक्रेन र साउदी अरब गरी पाँच देशले आवेदन दिएका छन् । 

‘वल्र्ड एक्स्पो २०३०’ आयोजना कस्ले गर्ने भन्ने निर्णय मतदानाबाट गरिने छ । मतदानमा बीआइई सदस्य राष्ट्रहरुले मतदान गर्नेछन् जहाँ नेपाल पनि सहभागी हुनेछ । यसैकारण उक्त मतदानमा साउदीको पक्षमा मत माग्न उनी नेपाल आएका थिए । 

‘साउदी विदेशमन्त्रीले आउँदो वर्ष फ्रान्समा हुने मतदानमा सहयोग गर्न विशेष अनुरोध गर्नु भएको छ,’ नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी परराष्ट्र उच्च स्रोतले न्युज कारखानालाई भने । बैठकमा उक्त विषयमा नेपाली पक्षले उपयुक्त समय आएपछि निर्णय लिने बताएको थियो । 

बैठकमा नेपालले भने विशेष रुपमा वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका तथा जाने कामदारको विषयलाई उठाएको थियो । नेपाली कामदारको हितको लागि छिटो दुई देशबीचको श्रम सम्झौतालाई अन्तिम रुप दिई कार्यन्वयनमा ल्याउनु पर्ने कुरामा नेपालले जोड दिएको थियो । 

‘हामीले नेपाली कामदारको हक,अधिकार र हितका विषय राख्यौं । हज गर्न जाने नेपालीको संख्या बढाइदिन पनि अनुरोध गरेका छौं,’ परराष्ट्र उच्च स्रोतले भन्यो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);