मतदाता शिक्षा आयोगसँगै दलले दिनुपर्छ : सरोकारवाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मतदाता शिक्षा आयोगसँगै दलले दिनुपर्छ : सरोकारवाला

गुल्मी । स्थानीय तहको निर्वाचन आउन दुई महिना बाँकी छ । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले गाउँगाउँमा मतदाता शिक्षा सञ्चालन गर्दै छन् । तर, गुल्मीका सरोकारवालाले मतदाता शिक्षा दलहरुले सञ्चालन गर्नुपर्ने जोड दिएका छन् ।

दलित महिला संघ गुल्मीले आयोजना गरेको जिल्लास्तरीय सरोकारवाला निकायबीचको समन्वय बैठकमा बोल्ने अधिकांशले आयोगको लगानी र अभियानले मात्र नहुने बताए । दलित महिला संघले जिल्लाका रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र मालिका गाउँपालिका गरेर चार स्थानीय तहमा दलित महिला तथा सिमान्तकृत समुदायको निर्वाचन र राजनीति सहभागिता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियान सञ्चालन गर्दैछ ।

गैरसरकारी संस्था महासंघ गुल्मीका अध्यक्ष विष्णु भण्डारीले दलहरुले आफ्नो नियत र प्रवृति नसुधारेसम्म मतदाता शिक्षा प्रभावकारी नहुने बताए । आयोगका मतदाता शिक्षा स्वयंसेवकले फिल्ड खाली गर्ने बित्तिकै दलहरूले आफु केन्द्रित प्रचार गर्ने र दलित तथा विपन्नलाई रक्सी, मासु र पैसाको प्रलोभनमा पार्ने गरेको आरोप लगाए । नागरिक समाजका संयोजक पदम पाण्डेयले स्वयंसेवक राजनीति प्रभाव मुक्त हुनुपर्नेमा जोड दिए ।

उनले मतदाता शिक्षाले ‘नो भोट’ भन्नेहरूलाई पनि आफ्नो मालिक बन्ने अधिकारको बारेमा जानकार बनाउँदै स्वतन्त्र नागरिक बनेर आफ्नो मताधिकारको प्रयोग गर्न उत्प्रेरित गर्नुपर्ने बताए । दलित महिला संगठनकी केन्द्रीय उपाध्यक्ष सीता विश्वकर्माले निर्वाचनमा जहिले पनि दलित समुदाय किनबेचको सिकार भइरहेको गुनासो गरिन् ।

जिल्ला समन्वय समिति सदस्य उमा चुदराले सबैभन्दा बढी बदर मत दलित समुदायका हुँदा पनि दलहरुले मत सुरक्षित गर्नभन्दा पार्टी प्रवेश गराउनमा व्यस्त भएको बताइन् । दलहरुको तर्फबाट एमाले नेता गणेश श्रीपालीले मतदातामा निराशाभन्दा आशा जगाउने गरेर अभियान र मतदात शिक्षा पार्टीहरुले सञ्चालन गर्नुपर्ने बताए ।

त्यस्तै माओवादी केन्द्रका नेता अशोक थापाले नेपालमा दलहरूले मासु खुवाएर र रक्सीको भल बगाएर चुनाव जित्दै आएकाले समुदाय आफै सचेत नभएसम्म प्रवृतिको अन्त्य नहुने बताए । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैर र निर्वाचन कार्यालय प्रमुख माया कुँवरले सरकारका मापदण्डको पूर्ण पालना गर्दै विवादरहित मतदाता शिक्षा सञ्चालन गर्न दलित महिला संघलाई अनुरोध गरे । दलित महिला संघ गुल्मीले चार पालिकाका १० स्थानमा नमुना मतदान र दुई स्थानीय तहमा सचेतनामुलक सडक नाटक प्रस्तुत गर्ने अध्यक्ष कमला बरालले जानकारी दिइन् ।

उनले चार स्थानीय तहको चार हजार घरधुरीमा २० जना स्वयसेवकमार्फत मतदाता शिक्षा प्रदान गरिने बताइन् । दलको चंगुलमा परेर आफ्नो मत दुरुपयोग वा बदर गर्ने प्रवृतिको अन्त्य गर्ने उद्देश्यलेनै मतदाता शिक्षा सञ्चालनको योजना बनाइएको दलित महिला संघ गुल्मीको सचिव विष्णु विश्वकर्माले बताइन् । अब पालिकास्तरमा समन्वात्मक बैठक र निर्वाचन कार्यालयसँग सहकार्य गरेर अरु गतिविधि अगाडि बढाउने विश्वकर्माले जानकारी दिइन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);