काठमाडौँ, ३० कार्तिक। गत असोज २८ गते भएको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को एमबिबिएस प्रवेश परीक्षा रद्द हुने भएको छ ।
गत असोज २८ गते भएको एमबिबिएस प्रवेश परीक्षामा विद्यार्थीले डिभाइसमार्फत चिट चोरेको फेला परेपछि त्रिवि र महानगरीय प्रहरी परिसरका अधिकारी सम्मिलित छानबिन समिति गठन गरेको थियो । सो समितिले बुझाएको प्रतिवेदनको आधारमा प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि परीक्षा स्वतः रद्द हुने भएको हो ।
त्रिवि समितिको प्रतिवेदन अनुसार, परीक्षा हलमा वितरण गरिएको सक्कल प्रश्नपत्र र विद्यार्थीले डिभाइसमार्फत दिएका उत्तरहरुलाई भिडाएर हेर्दा सेट दुईका १४ प्रश्नको उत्तर मिलेको थियो । आइओएमको एमबिबिएस प्रवेश परीक्षामा चिट चोरीमा संलग्न १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा समेत दायर गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मुद्दा दायर गरेको हो । यता परीक्षा रद्द हुनुपर्ने माग राख्दै आएका महाराजगन्ज मेडिकल कलेजका विद्यार्थीले त्रिविले पुनः परीक्षा गर्ने निर्णय गर्नुपर्ने बताएका छन् ।
विद्यार्थीहरुले चिट चोरीमा संलग्नलाई कारबाहीको माग राख्दै अदालतमा मुद्धा दायर गर्ने बताएका छन् ।