१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारका क्रममा ७ वर्ष जेल सजाय भोगेर आएका १० जना नेपालीलाई राहतको व्यवस्था मिलाईने आश्वासन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पिडितसँग कुरा गर्दै उहाँले साउदी अरबमा हत्याको झुट्टा अभियोगमा ७ बर्ष जेल बसेर आएका १० जना र जेलमै मृत्यु भएका एक जना गरी ११ जना नेपालीहरुको सहयोगार्थ सरकारको तर्फबाट विशेष पहल गरिने आश्वासन दिनुभएको हो । नेपालका विभिन्न जिल्लाबाट काम गर्न गएका साउदी अरबका ११ जना नेपाली भारतीय नागरीकको हत्या आरोपमा ७ वर्षदेखि जेल जीवन विताउन बाध्य भएका थिए ।
ती मध्येका सुनसरी जिल्लाको मधुवनका उमेश श्रेष्ठको जेलमै मृत्यु भएको र उनको शव पत्ता लाग्न सकेको छैन । अन्य दश जनामा मोरङका भीमप्रसाद चिमौरिया, रुपन्देहीका भक्त बहादुर दर्जी, भोजपुरका श्रीकुमार राई, रसुवाका सोमबहादुर तामाङ, सुनसरीका चक्रबहादुर गुरुङ, नुवाकोटका राम बहादुर तामाङ, ओखलढुङ्गाका विरबहादुर बुढाथोकी, झापाका दिपेन्द्र शेर्मा, तनहुँका केश बहादुर नेपाली र नवलपरासीका कृष्ण बहादुर दमाई रहेका छन् । उनीहरुलाई सातवर्ष पहिले साउदीको अदालतले ज्यान मुद्दामा जेल पठाएको थियो ।