जयन्ती पुडासैनी । १८ माघ, काठमाडौं । चालक अनुमति पत्र वितरण कार्यलाई व्यवस्थित बनाउनका लागी यातायात व्यबस्था कार्यालयले अनलाईन फारम दर्ता सेवा सुरु गरेको डेढ महिना भन्दा बढि भइसकेको छ । तर कार्यालयले आफनो कामलाई नियमित गर्न भने सकेको देखिदैन् । चालक अनुमति पत्र वितरण कार्यलाई नियमित र प्रभावकारी बनाउने उद्देश्यका साथ गत पौष १० गतेदेखि सरकारले अनलाइन फारमको व्यवस्था गरेको भए पनि कार्यालयमा जडान गरिएका सर्भर तथा सफ्टवेयरहरुमा पटक–पटक समस्या देखा पर्ने गरेको छ ।
पछिल्लो २ महिनामा ३ पटक कार्यालयमा जडित सर्भरमा समस्या देखा पर्दा काम गर्न समस्या परेको कार्यालयले जनाएको छ । सवारी अनुमति पत्रका लागी सर्वसाधारणको भिड लाग्ने यातायात व्यवस्था कार्यालयमा देखिएको समस्या समाधानका लागी दिर्घकालीन योजना नबन्दा यस्ता समस्याहरु दोहोरिने गरेको कार्यालयले जनाएको छ ।
सरकारले सेवाग्राहिको सहजताका लागी अनलाइन सेवा सञ्चालनमा ल्याएको भए पनि नियमित भने हुन सकेको देखिदैन् । कार्यालयमा दैनिक ५ सय अनलाइन तथा ३ सय सेवाग्राहिले कार्यालयमा नै गएर सवारी चालक अनुमति पत्रका लागी आवेदन दिने गरेका छन् । कार्यालयमा हालसम्म ६० हजार भन्दा बढी सेवा ग्राहिले आबेदन दिएको कार्यालयले जनाएको छ । तर कार्यालयले दिने सेवा सुविधा प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा आम सर्वसाधारणले चुस्त दुरुस्त सेवा पाउन भने सकेका छैनन् ।