१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार दलित समुदायका समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले दलित समुदायको उत्थानका लागी सरकार कटिबद्ध भएर लागेको बताउनुभयो । उहाँले दलित आयोगलाई संबैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धी भएको बताउँदै उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय बनाउने बताउनुभयो ।
लक्ष्मी परियार र अजित मिजारको घटनामा संलग्नहरुमाथि छानविन गरी कारवाही गर्ने प्रतिबद्धता जनाउँदै उहाँले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारले तयारी थालेको जानकारी दिनुभएको दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारले जानकारी दिनुभयो ।
दलित मुक्ति मोर्चाले लक्ष्मी परियार र अजित मिजारका हत्यामा संलग्नमाथि कारवाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन लगायतका माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।