अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका स्थानीय तहगत बेरुजु देखाउनेमा प्रदेशभरमै दोस्रो स्थानमा छ । महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक लेखापरीक्षण प्रतिवेदन ०७८ अन्तर्गतको तथ्यांकमा पञ्चदेवल विनायक नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु देखिएको हो ।
सुदूरपश्चिम प्रदेशभरको लेखापरीक्षण हुन बाँकी दार्चुलाबाहेकका जिल्लाका स्थानीय तहमा सबैभन्दा बढी बेरुजु बाजुराको त्रिवेणी नगरपालिकामा १७.६० प्रतिशत भएको छ भने सबैभन्दा कम डडेल्धुराको अजयमेरु गाउँपालिकामा ०.६० प्रतिशत बेरुजु देखिएको तथ्यांकमा उल्लेख छ ।
सुदूरपश्चिममा सबैभन्दा बढी बेरुजु भएका पालिकाहरूमा बाजुराको त्रिवेणी नगरपालिका, अछामको पञ्चदेवल विनायक नगरपालिका, कैलालीको टिकापुर नगरपालिका, भजनी नगरपालिका, डोटीको आदर्श गाउँपालिका, कन्चनपुरको महाकाली नगरपालिका, बझाङको साइपाल गाउँपालिका रहेका छन् । सबैभन्दा कम बेरुजु देखिएका पालिकामध्ये डडेल्धुराको अजयमेरु गाउँपालिका, दुर्गाथली र बझाङको केदारस्युँ गाउँपालिका रहेका छन् ।