काठमाडौँ, २७ कात्तिक । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिपआर तयार गर्ने निर्णय गरवेको छ ।
लगानी बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनकाअनुसार उपत्यकामा सञ्चालन गर्ने दुई मार्गमध्ये एउटा रेल विभागले र अर्को लगानी बोर्डले सञ्चालन गर्ने भन्ने उल्लेख थियो ।
लगानी बोर्डले अगाडि बढाउने मार्गको डिपिआर अगाडि बढाउन बोर्डको बैठकले निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
त्यसैगरी बैठकले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थाका लागि एक वर्ष र अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि छ महिना म्याद थप गर्ने निर्णय गरेको छ ।