मुख्य मार्गको पुल भासिएर भ्वाङ, त्रासमा हिँड्नुपर्ने बाध्यता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुख्य मार्गको पुल भासिएर भ्वाङ, त्रासमा हिँड्नुपर्ने बाध्यता

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकाको मुख्य मार्गको पुल भासिएर भ्वाङ परेको छ । जसकारण त्रसित हुँदै यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।

नगरपालिकाको वडा नम्बर ५ र ६ जोडने बैदौलीकास्थित नहरपुल जीर्ण हुँदा जोखिम बढेको छ । एक वर्षदेखि जीर्ण भए पनि नयाँ निर्माणका लागि बजेट व्यवस्थापन नहुँदा सोही पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यतामा स्थानीय छन् ।

वाणगंगा सिँचाइ प्रणालीको नहरमाथि निर्माण भएको पुलसँगै पानी वितरण गर्ने च्यानल बनाउँदा एक करोडभन्दा माथि खर्च हुने देखिएको वडा नम्बर ६ का अध्यक्ष शुकदेव चौधरीले बताए । करोड खर्च गर्ने हैसियत नगरपालिकासँग नभएपछि प्रदेश सरकारसँग योजना माग भएको थियो ।

प्रदेश सरकारले पुलको डिपिआर बनाउन एक लाख बजेट मात्र विनियोजन गरेको बताइएको छ । हाल पुलको आधा भाग भासिएको र बीचको भागमा भ्वाङ परेको अवस्थामा रहेको छ। नदीजन्य पदार्थ बोकेर टिपर तथा ट्याक्टर हिँड्न लागेपछि पुल भासिएको स्थानीयहरू बताउँछन् ।

स्थानीयलाई ओहोरदोहोर गर्न नजिक पुल नहुँदा त्रासका साथ यात्रा गर्नुपर्ने बाध्यता छ । अर्को पुल एक किलोमिटर टाढा छ । वडा कार्यालय तथा नगरपालिकाको धेरै स्थानमा पुग्न यही पुलको सहारा लिनुपर्ने बाध्यता छ । नगरपालिकाले नगरस्तरीय कृषि सडकको घोषणा गर्दै दुई लेन कालोपत्रेसमेत भएको छ ।

जीर्ण पुलबाट यात्रा गर्दा मोटरसाइकल र साइकलमा यात्रा गर्ने खसेर चोटपटक लाग्ने गरेको स्थानीय समाजसेवी प्रकाश भुसालले बताए । 

पुल निर्माणका लागि बजेट विनियोजन नभएपछि स्थानीय अगुवाहरू सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा डेलिकेशन पुगेका थिए । वडा नम्बर ६ का वडाध्यक्ष चौधरीले सिँचाइको कुलोसहितको पुल निर्माण गर्नुपर्ने भएकाले लुम्बिनी प्रदेश सरकारसँग पुल निर्माणका लागि ज्ञापनपत्र बुझाउन जाने तयारी भएको बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);