बर्दिबास सरसफाई महाअभियान : कुचो बोकेर सबेरै बजार पुग्छन् प्रहरी र युवायुवती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बर्दिबास सरसफाई महाअभियान : कुचो बोकेर सबेरै बजार पुग्छन् प्रहरी र युवायुवती

महोत्तरी । प्रहरी र नगर प्रहरीहरूको हात–हातमा कुचो छ । सडकको छेउछाउमा भएका कागज टिप्नेदेखि धुँलो बढार्दा व्यापारीहरू भने दर्शक बनिरहेका छन् । पछिपछि एक हुल युवायुवतीसँगै छन् । उनीहरू पनि प्रहरी र नगर प्रहरीको साथमा कुचो लगाउँदै र फोहोर टिपेर डस्टविनमा हालिरहेका छन् ।

यतिबेलासम्म बिहानको ६ बजिसकेको छ । कठ्याङग्रीदो जाडोमा एकाबिहानै फोहोर उठाउँदै प्रहरी, नगरप्रहरी र युवायुवती के गर्दै छन् ? यो दृश्य देखेपछि जो कोहीमा यस्तै प्रश्न उठ्नु स्वभाविकै हो । कतै सिनेमाको सुटिङ त भइरहेको छैन, कि कुनै पार्टीले आफ्नो प्रचारप्रसार गरीररहेको छ ?  तर, यो न त सुटिङ हो न कुनै प्रचारप्रसार नै ।

बर्दिबास नगरपालिकामा पछिल्लो दुई सातादेखि सरसफाई अभियानमा प्रहरी, नगर प्रहरी र स्थानीय युवायुवती यसरी नै लागि रहेका छन् । “हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारीअन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिबासले स्थानीय युवा तथा रोट्र्याक युवा क्लबसँग साझेदारी गरी सरसफाई अभियान चलाइरहेको छ ।

रोट्र्याक अफ बर्दिबास र रोटरी क्लबको संयुक्त आयोजनामा संचालित सरसफाई महाअभियानमा स्थानीय संघ, संस्थाले समेत ऐक्यबद्धता जनाएका छन् । सफा र स्वच्छ वातावरण निर्माणका लागि बर्दिबास नगरभित्रका बासिन्दालाई  महाअभियानमा सहभागी गराउने उदेश्यले अभियान चलाएको आयोजकको भनाइ छ । ‘व्यक्ति तथा सम्बन्धित निकायको वेवास्ताले सहर कुरुप बन्दै गएपछि सरसफाई अभियानमा युवाहरू परिचालन गरेका छौँ ।’ रोटरी क्लब अफ बर्दिबासका सभापति बिष्णु खड्काले भने ।

पसलको अगाडि फोहोर फ्याँक्ने र दोष भने अरुलाई  देखाउँने परिपाटीले बर्दिबासमा पछिल्लो समय फोहोर देखिन थालेको छ । सरसफाई सबैले गर्नुपर्छ भन्ने जिम्मेवारीबोध गराउन क्लब र रोट्र्याकले संचालन गरेको अभियानमा संघ, संस्था तथा सम्बन्धित निकायले पनि चासो देखाएका छन् ।

उक्त महाअभियानमा नगर प्रहरी पठाएर नगरपालिका समेत सरसफाइप्रति संवेदनशील छ भन्ने सन्देश प्रवाह भएको छ । प्रारम्भिक अभियानदेखि नै नगरपालिकाले नगर प्रहरी परिचालन गरेर अभियानमा साथ दिएको सरसफाई अभियन्ता बिजय पोखरेलले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);