चितवन । माडी नगरपालिका–८ कान्तिपुरमा सामुहिक खेतीभित्र ‘फार्म स्टे’ सञ्चालन हुने भएको छ । ‘फार्म स्टे’का लागि ४६ वटा घर निर्माणका चरणमा छन् ।
सामुहिक खेती अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरि ‘फार्म स्टे’ सञ्चालन गर्न लागिएको हो । सूर्याेदय कृषि सहकारी संस्थामा आबद्ध ८४ जना किसानले तीन वर्षअघिदेखि सय बिघा जमिनमा सामुहिक खेती गर्दै आएका छन् । फार्म स्टेमा बस्ने पाहुनालाई किसानले सामुहिक खेतीमा लगाएका खानेकुरा खुवाउने र स्थानीय संस्कृति झल्कने प्रस्तुति देखाउने सहकारीको योजना छ । सहकारीले सामुहिक खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत गन्धर्व संग्रहालय तथा सांस्कृति केन्द्रको पनि स्थापना गरेको छ ।
सामुहिक खेतीका लागि एकजना किसानले एक कट्ठादेखि ८० कट्ठासम्म जग्गा दिएको सूर्याेदय कृषि सहकारी संस्थाका प्रबन्धक शिवजी गायकले बताए । ‘८४ जना किसानले दिएको जग्गालाई एकैठाउँमा चक्लाबन्दी गरेर सामुहिक रुपमा खेती गर्दै आएका छौँ’, उनले भने । उनीहरूले २०७५ सालमा जग्गाको चक्लाबन्दी गरेर २०७६ सालदेखि खेतीपाती सुरू गरेका हुन् ।
सामुहिक खेतीमा पोखरी निर्माण गरि माछापालन, पशुपालन, तरकारी खेती र अन्नबाली लगाउने गरेको उनी बताउँछन् । यस क्षेत्रलाई कृषि पर्यटनका रुपमा विकास गर्न ‘फार्म स्टे’ सञ्चालन गर्न लागेको उनले जानकारी दिए । करिब २५ विघामा पोखरी निर्माण र ६ बिघामा तरकारी खेती गरिएको छ । ‘पर्यटकलाई यहीँ बस्ने वातावरण बनाउनलाई ‘फार्म स्टे’ सञ्चालन गर्न खोजेका हौँ । ‘फार्म स्टे’का लागि ४६ वटा घर निर्माणका चरणमा छन्’, उनले भने । सामुहिक खेतीका लागि बाग्मती प्रदेश सरकारले विभिन्न शीर्षकमा ७५ प्रतिशत अनुदान दिएको छ । बाँकी २५ प्रतिशत स्थानीय किसानको सहभागीता छ । सहकारीले एक करोड बराबरका मेसिनरी औजार किनेको छ, जसमा प्रदेश सरकारको पनि बजेट परेको छ ।
यस्तो हुनेछ ‘फार्म स्टे’
‘फार्म स्टे’का लागि बनाइने एउटा घरको लागत आठ लाख रुपैयाँ रहेको छ । त्यसका लागि प्रदेश सरकारले प्रतिघर तीन लाख र नगरपालिकाले प्रति घर डेढ लाख दिएको छ । किसानले प्रति घर साढे तीन लाख रुपैयाँ ब्यहोर्नेछन् । एउटा घरमा किचनसहित चार वटा कोठा हुन्छन् । पाहुनाका लागि एउटा कोठा राखिने र बाँकी कोठा किसानले प्रयोग गर्ने उनी बताउँछन् । एउटा कोठामा दुई जनासम्म अटाउँन सक्छन् ।
कान्तिपुरमा २०२१ सालदेखि मानिसको बसोबास हुन थालेको हो । यहाँ धादिङ, गोर्खा, पर्वत, स्याङजा लगायतका जिल्लाबाट बसाइसराई गरेर आएका छन् । यहाँ ब्राह्मण क्षेत्रीका ३४ वटा, जनजातिका तीन वटा र दलितका ४९ वटा घरपरिवार छन् । दलितभित्र पनि विश्वकर्माका आठ घर छन् भने बाँकी घरपरिवार गन्धर्व समुदायका छन् ।
‘खेतीमात्रै गर्दा सोचेजति फाइदा हुँदैन । त्यसो हुनाले ‘फार्म स्टे’ पनि सञ्चालन गर्दा आफैले उत्पादन गरेका वस्तु यहीँ खपत होला । दीर्घकालिन रुपमा किसानलाई फाइदा होला’, उनले भने । फार्म स्टेका घर निर्माण, सांस्कृतिक घर, गोदाम घर, पाडा पालनका लागि गोठ, टनेल, उपकरण राख्ने घर, जग्गा चक्लाबन्दीलगायत विभिन्न कामका लागि प्रदेश सरकारले हालसम्म पाँच करोड बजेट दिइसकेको उनले बताए । सहकारीले २८ वटा पाडा पनि पालेको छ ।
चक्लाबन्दीपछि खेती गर्न सहज
जग्गा चक्लाबन्दी गरि मेशिनको प्रयोग गरेर खेतीपाती गर्दा धेरै सहज भएको उनी बताउँछन् । जसले गर्दा आम्दानी पनि बिस्तारै बढ्दै गएको उनले बताए । ‘सुरू–सुरूका वर्ष भएर पनि होला, चक्लाबन्दी गर्दा मलिलो माटो अन्यत्र गएको हुनाले उत्पादनमा केही कमी छ । माटोको सुधार हुँदै छ । विस्तारै उत्पादकत्व पनि बढ्ला भन्ने अपेक्षा गरेका छौँ’, उनले भने ।
सामुहिक खेतीमा विभिन्न पूर्वाधार निर्माणकै चरणमा भएकाले सोचेजति नाफा कमाउन भने नसकिएको उनी बताउँछन् । डेढ किलोमिटर लामो कुलो चाहिनेमा गतवर्षसम्म करिब सात सय मिटरमा मात्रै कुलो बनाउने काम सकिएको छ । वर्षातका बेला खेतमा जम्मा भएको पानी निकास गर्ने ठाउँको पनि अभाव भएको छ । खेतको ठाउँ–ठाउँमा पानीको निकास दिनेगरि काम गर्न बाँकी छ ।
सामुहिक खेतीमा बाँकी रहेका काम सम्पन्न गर्न सहकारीमा केहीँ पुंजी राख्न आवश्यक रहेको उनले बताए । किसानलाई प्रति कट्ठा एक मुरी धान दिनेगरि सहकारीले उनीहरूको जग्गा लिएर चक्लाबन्दी गरेको हो । सहमति अनुसारको धान किसानलाई दिन सकिएको उनले बताए ।
बाढीले धान बालीमा क्षति
यो वर्ष बाढीले धेरै क्षति पु¥याएको छ । पाक्ने बेलाको धानमा बाढी पसेपछि धान सुतेका छन् । कतिपय स्थानमा धान कुहिएर झरेका पनि छन् । मेशिनले काट्न सक्ने अवस्था छैन । जसले गर्दा किसान आफैले काटेर धान झार्नुपर्ने भएको छ । यसले लागत बढाएको छ ।
‘यो वर्ष धान राम्रो फलेको थियो । पानी परेको हुनाले सबै धान सुतेको छ । मेशिनले पाँच हजार लागतमा एक विघाको धान काट्ने, झार्ने, थन्काउने र पराल पनि फाल्ने काम गथ्र्याे । तर अहिले मानिस आफै खटिनुपर्दा ४० हजार रुपैयाँसम्म लागत लाग्ने भएको छ’, उनले भने । गत वर्ष धान बालीमा लागेको गवारोको महामारीले गर्दा किसानले क्षति व्यहोर्नु परेको उनले बताए । किसानलाई मौसम र रोगकिराले पनि संकटमा पार्ने गरेको उनी बताउँछन् ।
यसपालि मौसमले साथ नदिँदा किसानलाई घाटा भएको स्थानीय किसान उखा गायक बताउँछिन् । सामुहिक खेती सुरु गरेपछि खुसी भएकी उनी कहिले रोगकिरा त कहिले बाढीले बालीमा क्षति पु¥याएको भन्दै चिन्तित छिन् । सामुहिक खेतीका लागि उनले आफ्नो १२ कट्ठा जग्गा दिएकी हुन् ।
‘पहिला–पहिला १२ कट्ठामा ३० मुरी धान हुन्थ्यो, तीन–चार बोरा गहुँ हुन्थ्यो । दुई खाल मकै हुन्थ्यो । अहिले हामीले बुद्धि पु¥याउन सकिएन कि । मौसमले पनि साथ दिएन । घाटा भयो’, उनले भनिन् ।